२०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका बुवा ओम कटुवालले विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथि छलफल भएको हो।
छलफलका क्रममा बोल्दै उनले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाए।
उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधि समेत रोकेको उनको आरोप छ। कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्ने कुरा गरेको बुवा ओमले बताए।
प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ। मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने उनले बताए।
दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरूवाउन उनले आग्रह गरे।
उनले भने, ‘आयोगको अध्यक्षज्यू वायसनेस भएको आशंका मलाई छ। किनकी उहाँ मेरोमा अन्तर्वार्ता लिन जाँदा नै उहाँले मलाई ह्यारेसमेण्ट गर्नुभयो। मैले खाने औषधिहरू समेत उहाँले रोक्नुभयो। उहाँले सोझै यो त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नुभयो। यसमा टेक्निकल कुरा मलाई थाहा हुँदैन। प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक छ। वेट चार्ट जब भरिएर आउँछ, त्यसपछि पाइलटले हस्ताक्षर गर्ने होला। कोपाइलटले नै गरेको भन्ने थियो। अर्को अहिले कार्यरत पाइलटले पछि अन्तरवार्ता लिएर आएपछि जुन आयो त्यो त मैले नै साइन गर्थें भन्नुभएको छ। सुरूदेखि नै यसमा आशंका छ। ऊ बोल्न सक्दैन कहाँ छ, तर दोष किन उमाथि? यदि उमाथि दोष सुनियोजित थुपारिन्छ भने अध्यक्षज्यू छिमेकी जिल्ला तपाईंकै जिल्लामा साढे ४ वर्ष सेवा गरेको छु, तपाईंको पनि छोरो पाइलट छ। तपाईंको आत्मसन्तुष्टि छ भने मेरो भन्नु केही छैन। उमाथि हुँदा पनि उसको आत्मा नरोओस्।’
उनले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो? भन्दै प्रश्न गरे।
२०८१ को साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। जहाँ १८ जनाको ज्यान गएको थियो। —न्युज एजेन्सी नेपाल