चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनाविरूद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको छ।
जिल्ला अदालत काठमाडौंमा मंगलबार १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उक्त मुद्दामाथि बुधबार सुनुवाइ हुनेछ।
उनीहरूको मुद्दा न्यायाधीश खिमानन्द भूसालको इजलासमा बयान तथा सुनुवाइ भइरहेको छ।
प्रहरीले केही दिनअघि मुद्दाको अनुसन्धान सकेर चक्रेसहित १९ जनामाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, रोजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम मर्जन, प्रनिस कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीलाई मुद्दा चलाउन राय दिएको थियो।
त्यसअनुसार नै सबै जनाविरूद्ध मुद्दा दायर भएको हो।
प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो।
उनीहरूले सवारीसाधनले सडकमा बाटो कब्जा गरेको, होहल्ला गरी हैरानी दिएको, अश्लिल अपशब्दहरू बोलेको, जन्मदिन मनाउने नाममा आतंकित बनाएको आरोप छ।
प्रहरीले दुई वटा रड, एउटा खुकुरी र एउटा पेपर-स्प्रे समेत बरामद गरेको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंमा चक्रे मिलनले बयान दिँदा आफ्नो वास्तविक जन्म मिति २०२९ साउन १४ गते भएको बताएका छन्। तर उनले नागरिकतामा भने साउन १९ राखेको पनि बताएका छन्।
उनले आफू अहिले नेकपा एमालेको गोरखास्तरीय पार्टीको सदस्य भएर पार्टीगत रूपमा विभिन्न वडामा हुने कार्यक्रम र सामाजिक सेवा लगायतमा सहभागी हुँदै आएको पनि उल्लेख गरेका छन्।
आफ्नो जन्मदिन साउन महिनामा पर्ने भएकाले पहिलो सातादेखि नै जन्मदिन मनाइदिन आउनेहरू समर्थकहरू रहेको पनि उनले बयानमा खुलाएका छन्।
‘मेरो जन्मदिन साउनमा पर्ने भएकाले कतिपय पार्टीगत हिसाबले सहयोग र साथ दिने व्यक्तिहरूले मलाई साउन महिनाको सुरू हप्तादेखि नै विभिन्न स्थानहरूमा बोलाएर आफैले केक काटेर मलाई शुभकामना दिने गरेका छन्,’ उनले भने, ‘मैले आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथी भाइहरूको मन राख्न भनेर साउन महिनाको सुरू हप्ता देखि नै काठमाडौं, पोखरा, बुटवल र अन्य स्थानहरूमा समेत साथी भाइहरूको अनुरोधमा उपस्थित हुन गई आफ्नो जन्मदिन मनाउँदै आइरहेको थिएँ।’
त्यस्तै चक्रे मिलनले साम्बाला होटलमा पनि जन्मदिन मनाउनका लागि ग्राउन्ड फ्लोर र रूफटप बुकिङ गरेका थिए।
मध्यराति केक काटेर सबै जना रमाइरहेको बेलामा प्रहरी आएको उनले बताए।
त्यही बेला आफ्ना भाइहरूले प्रहरीसँग भनाभन गरेको उनले बयानमा खुलाएका छन्।
‘एक्कासि प्रहरी आएर हामीलाई रातभर किन होहल्ला गरेको भनेर सम्झाउन आउँदा केही भाइहरूको प्रहरीसँग भनाभन मात्र हुन पुगेको हो। तर हामीले कुनै अभद्रजन्य कार्य गरेको छैन र थिएन,’ उनले भने, ‘धारिलो तथा जोखिम हतियारहरू प्रदर्शन गर्ने, सार्वजनिक स्थान, सडक, बाटो अवरोध हुने गरी स्थानीयलाई गाली गलौज, डर धम्की दिने काम मबाट भएको छैनर’
उनले ठूलो संख्यामा भेला गरी जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु गल्ती भएको पनि बताएका छन्।