ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसहित तीन जनामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार अन्तिम पटक म्याद थपका लागि तीनै जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको छ। सिआइबीले ज्योतिबहादुर र उनका दुई सहयोगी धादिङका सुवास खत्री र बर्दियाका सुरेश अधिकारीमाथि अनुसन्धान गरेको ५५ दिन पुगेको छ।
अबको पाँच दिनभित्र अदालतमा मुद्दा दायर गर्ने तयारी छ। सहकारीका १४४ जना पीडितहरू प्रहरीको सम्पर्कमा छन्।
उनीहरूमाथि प्रहरीले पाँच वटा कसुर आकर्षित गरी मुद्दा दायर गर्न लागेको छ।
सहकारी ठगी, किर्ते, हुण्डी, अभौतिक मुद्राको कारोबार गर्न नहुने र संगठित अपराध कसुरमा आकर्षित भएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
'अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सहकारी ठगीमा पक्राउ परेका तीन जना प्रमुख देखिएका छन्,' उनले भने, 'सबैको यकिन बिगो खुलाउन बाँकी छ, प्रक्रियामा छ।'
मितेरी सहकारीको कुल अपचलन भएको रकम मात्रै ९ करोड रूपैयाँ रहेको सिआइबीको निष्कर्ष छ। ब्याजसहित जोडेर १४ करोड रूपैयाँ बराबरको असुल गर्नुपर्ने अनुसन्धानमा देखिएको हो।
यस ठगी प्रकरणमा प्रहरीले ज्योतिबहादुर भण्डारीलाई नै प्रमुख अभियुक्तको रूपमा उभ्याएको छ।
उनलाई प्रहरीले गत असार ४ गते इन्टरपोलको सहयोगमा कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको थियो। त्यसपछि प्रहरीले सुवास खत्री र सुरेश अधिकारीलाई पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका सुवास खत्री 'नामुद' हुण्डी कारोबारी हुन्। उनी नेपालमै सबैभन्दा धेरै हुण्डी कारोबार गर्नेमध्ये हुन्।
प्रहरी पक्राउ गर्न जाँदा उनले आफ्नो 'आइफोन १६ प्रो' भुँइमा बजारेर फुटाएका थिए। पछि सिआइबीको टोलीले फोन मर्मत गर्न दिएका थिए।
'मोबाइल फुटाएका थिए। तर पछि स्क्रिन बनाएर डिएफएल (डिजिटल फरेन्सिक ल्याब) मा पठाएका थियौं,' अनुसन्धानमा संलग्न ती अधिकारीले भने, 'पछि त्यहाँबाट आएको रिपोर्टमा अर्बौंको कारोबारको विवरणहरू फेला पार्यौं।'
प्रहरीले उनको मोबाइलबाट चार अर्ब ६० करोड रूपैयाँ बराबरको कारोबार भएको देखिएको जनाएको छ। कतिपय क्रिप्टोकरेन्सीको समेत देखिएको छ। हुण्डीकै रकमबाट भएको कमाइले सुवास खत्रीले सीतापाइलामा घर किनेका छन्।
उनले नै हुण्डी गरेर ज्योतिबहादुर भण्डारीलाई कम्बोडिया र थाइल्याण्डमा रकम पठाएको प्रहरीको भनाइ छ।
हुण्डीको रकम ओसारपसार गर्न भने सुरेश अधिकारी खटिन्थे। उनले प्रहरीलाई सहज रूपमै सबै जानकारी दिएका थिए।
उनले प्रहरीलाई २२ करोड रूपैयाँ बराबरको नगद विभिन्न ठाउँबाट उठाएर लगेको बताएका छन्। सुरेशले भने रकम ओसारपसार गरेबापत न्यून रकम पाइरहेका थिए।
उनले प्रहरीलाई दिएको बयान र ज्योतिबहादुको डायरीमा भएको विवरणसँग मेल खाएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।
'९ करोडबाहेक बाँकी रकम व्यक्तिगत ठगी पनि हो। २२ करोड रूपैयाँ हुण्डीको लागि ओसारपसार गरी सुरेशले सुवासलाई बुझाएको र त्यहाँबाट ज्योतिबहादुरलाई जाने रहेछ,' ती प्रहरीले भने, 'सुवासले आफूलाई चाहेजति रकम पनि प्रयोग गरेको भेटियो।'
यस सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङ पनि मुछिएकी छन्। उनीविरूद्ध रेड कर्नर नोटिस समेत जारी भएको छ। उनी हाल फरार छिन्।
सहकारीका पदाधिकारीलाई महाप्रबन्धक भूमिकामा रहेकी ज्योति गुरूङले नै ज्योतिबहादुर भण्डारीलाई चिनाएका थिए।
सहकारीमा कारोबार हुनुअघि नै उनीहरूबीच थानकोटमा भेट भएको भन्नेबारे पनि बयानमा खुलेको छ। यद्यपि यसबारे यकिन विवरण भने खुलिसकेको छैन।
सहकारीबाट रकम लिइसकेपछि मात्रै ज्योति गुरूङले पदाधिकारीलाई जानकारी गराएका थिए।
'उनले सहकारीको रकम त लगे लगे, त्यसपछि पनि व्यक्तिगत रूपमै पनि ठग्नलाई पदाधिकारीहरूको विश्वास जितेका थिए,' सिआइबीका एक अधिकारी भन्छन्।
उनले सहकारीका अध्यक्ष कुम्मराज गुरूङ, महाप्रबन्धक ज्योति, सचिव कृष्णबहादुर राना लगायतबाट पटक-पटक गरी रकम लिइसकेका थिए। कतिपयले घर नै बेचेरसमेत रकम दिएको प्रहरीको भनाइ छ।
त्यसरी करोडौंको रकम लगिसकेपछि थप तीन करोड ११ लाख रूपैयाँ ठगेको खुलेको थियो।
एसएसपी होबिन्द्र बोगटीका अनुसार उनले ३३ करोडको ग्लोबल आइएमई बैंकको स्टेटमेन्ट नै देखाएर विश्वास जितेका थिए।
'स्टेटमेन्ट देखर उनीहरूले थप तीन करोडभन्दा बढी रकम पठाएका थिए। त्यो पनि ठगिदिए,' उनले भने।
अहिले पक्राउ परेपछि पनि ज्योति भण्डारीले १३ करोड रूपैयाँ कम्बोडियामै रहेको बयान दिएको पनि उनले बताए।
'उनले १३ करोड रकम छ, कम्बोडियामै छ भनेका छन्। कुनै हुण्डी कारोबार गर्ने व्यक्तिसँगै छ भन्ने कुरा गरेका छन्,' उनले भने।
ज्योतिबहादुर भण्डारीले विभिन्न व्यक्ति आफै खडा गरेर ढाँट्ने गरेको प्रहरीको भनाइ छ।