सुन चोरीको आरोपमपा पक्राउ परेका पोखराका उत्तम गुरूङले प्रहरी अनुसन्धान अधिकृतलाई चोरीको सुन भारतीय नागरिक मनोहर सोपान पवारलाई बिक्री गरेको खुलाए।
पवारका बुवाले पृथ्वीचोकमा चलाएको ज्योतिलिङ्ग रिफाइन सुनचाँदी पसलमा ९ तोला ४६ लाल बराबरको मंगलसुत्र, बाला, बेरुवा औंठी, र सिक्री गुरूङसँग खरिद गरेको खुलेपछि मनोहर फरार छन्।
जिल्ला अदालत कास्कीमा साउन ११ गते दर्ता भएको मुद्दामा गुरूङ र मनोहरलाई ९ तोला सुनको बिगो मागदाबी प्रहरीले गरेको छ।
चोरी आरोप लागेका गुरूङलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि भारतीय नागरिक मनोहर फरार छन्।
भारतको महाराष्ट्र घर भएका मनोहरका श्रीमती सुनिता पवार गत शुक्रबार सुनको अवैध कारोबार आरोपमा पक्राउ परिन्।
सुनितासँगै पोखरामा कालिगढ काम गर्ने ११ जना भारतीयसँग ६ किलो ४०० ग्राम सुन बरामद गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।
बरामद भएको सुनको मूल्य १० करोड ९७ लाख रुपैयाँ बराबर रहेको उनले बताए।
‘नेपालमा कालिगढका रुपमा कार्यरत भारतीय नागरिकहरूले चोरीको सुन सस्तोमा खरिद गरेर गाल्ने र बिक्री गर्ने, भारतबाट लुकीछिपी सुन तस्करी गर्ने र गहना बनाएर लगाएर आउने र पोखरा ल्याएर बेच्ने प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘बजारमा सुनको माग उच्च भए पनि वैधानिक तरिकाले आपूर्ति हुन नसक्दा सुनको अवैध खरिद बिक्री फस्टाएको देखिन्छ।’
पोखराको सुन पसलमा कालिगढका रूपमा काम गर्ने भारतको पश्चिम बंगालका सुरजित भौमिकसँग पनि प्रहरीले २०८० फागुन १ गते ६ करोड ४६ लाख २४ हजार रुपैया बराबरको सुन बरामद गरेको थियो।
यस्तै गत असार ५ गते बुटवल–पोखरा सडकमा यात्रुवाहक भ्यानबाट रामबहादुर विकसँग १ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको सुन बरामद गर्यो।
विशेष सूचनाका आधारमा यसरी सुनसहित कारोबारी व्यक्ति पक्राउ गरेको एसपी ओलियाको भनाइ छ।
यसरी करोडौं रुपैयाँ बराबरको सुनसहित पक्राउ पर्ने व्यक्तिहरू भने सुनचाँदी व्यवसायी नभइ कालिगढ रहेका छन्। सुनचाँदी व्यवसायीले नै कालिगढलाई भारतबाट सुनचाँदी तस्करी गर्न प्रयोग गरेको हुन सक्ने एसपी ओलियाको आशंका छ।
‘खरिद बिक्रीको बिल नभएका सुनहरू कालिगढबाट बरामद भएका छन्। यत्तिका सुन उनीहरु आफैले खरिद बिक्री गर्न सक्ने भए कालिगढ काम किन गर्थे,’ उनले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट व्यवसायीले नै सुन तस्करीमा कालिगढलाई भरिया बनाएको हुन सक्ने देखिन्छ।’
सुनसहित पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको एसपी ओलियाले बताए। सोही कार्यालयले विस्तृत अनुसन्धान गरेर मुद्दा दायर गर्ने उनको भनाइ छ।
‘सुन तस्करीका विषयमा विस्तृत अनुसन्धान राजश्व अनुसन्धान कार्यालयले गर्छ,’ उनले भने, ‘कालिगढले अवैध तरिकाले भित्राएको सुन कुन-कुन व्यवसायीले खरिद गर्छ र कसरी वैधानिकता दिन्छ भन्नेबारे सोही कार्यालयको अनुसन्धानबाट खुल्न आउला।’
नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अनुसार पोखरामा मासिक १२ किलो सुन वैधानिक रूपमा बिक्रीवितरण गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ। र मासिक ३० किलो सुन कारोबार हुन्छ।
गत शुक्रबार ६ किलो ४०० ग्राम सुनसहित पक्राउ परेका व्यक्तिहरू सामान्य कोठा लिएर बसेको र उनीहरू कालिगढका रूपमा कार्यरत रहेकाले पनि त्यत्तिका सुन खरिद गर्न सक्ने आर्थिक हैसियत नदेखिएको उनले बताए।
प्रहरीले चलाएको ‘अपरेसन यलो मेटल’बाट पोखरा महानगर वडा नम्बर २, ३, ४ र ९ ठूलो मात्रामा सुन र चाँदीसहित ११ जना भारतीय नागरिक पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूबाट ६ किलो ४ सय ग्राम सुन, ४४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६६५ रूपैयाँ बरामद गरेको थियो।
पक्राउ पर्नेहरूमा भारतको पश्चिम बंगालका राजेन्द्र रामचन्द्र जगताप, मनिकलाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी छन्।
उनीहरूलाई थप अनुसन्धानका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय बुटबल पठाएको एसपी ओलियाले बताए।