दार्चुलास्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वरको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्।
महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त साउन २४ गते पक्राउ परेका हुन्।
दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार ‘बैंकिङ कसुर सम्बन्धी मुद्दा’ मा थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट पहिलो चरणमा सात दिनको म्याद प्राप्त भइसकेको छ।
महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले चार जनाले मिलेर बैंकको ‘सञ्चिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा तत्कालीन शाखा प्रबन्धक शाहीसहित चार जनालाई साउन २४ गते पक्राउ गरेको थियो।
तत्कालीन शाखा प्रबन्धक शाही सहितका कर्मचारीले बैंकको (भल्टमा राखिएको) इन्स्योरेन्स लगायतको निश्चित सञ्चिती रकम हिनामिनाको आशंकामा बैंकको केन्द्र र प्रदेश कार्यालयका प्रमुख सहितको टोलीले साउन २३ गते अनुगमन तथा निरीक्षण गरेको थियो।
त्यस क्रममा बैंकका पदाधिकारीले सोही दिन नै भल्टमा रहनु पर्ने निश्चित सञ्चिती रकम फेला पार्न सकेका थिएनन्।
बैंकका केन्द्र र प्रदेशबाट अनुगमनमा गएको टोलीले त्यसपछि सोही दिन नै तत्कालीन शाखा प्रबन्धक शाहीसहित प्रारम्भिक अनुसन्धानबाट रकम हिनामिना प्रकरणमा संलग्नता खुलेपछि चार जना कर्मचारीलाई निलम्बित गरेको थियो।
दैलेखका प्रहरी प्रमुख डिएसपी दाहालका अनुसार बैंकको भल्टमा रहेको पौने तीन करोड जति रकम हिनामिना गरेको भनेर महालक्ष्मी बैंकको केन्द्र र प्रदेशका पदाधिकारीले उजुरी दिए पनि त्यसमा सर्वसाधारण सेवा ग्राही (ग्राहक)को रकम भने सुरक्षित नै रहेको भन्ने उल्लेख छ।
पक्राउ परेका तत्कालीन शाखा प्रमुख शाहीसहित चार जनालाई तत्काल प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गर्ने गरी अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।
‘तत्काल हामीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउने छौं,’ डिएसपी दाहालले भने, ‘पक्राउ परेकाहरूको बयान हुन बाँकी छ। हामी त्यसपछि प्राविधिक विश्लेषण गरी थप के कुरा खुल्छ सोही अनुसार अरू शीर्षकमा मुद्दा पनि चलाउन सिफारिस गर्न सक्नेछ।’
प्राविधिक विश्लेषणका क्रममा अन्य विषयवस्तु र मुद्दा पनि त्यसमा जोडिन सक्ने वा अन्य व्यक्ति पनि तानिन सक्ने प्रहरीको आशंका छ।
‘बैंकबाट परेको मुद्दामा अनलाइन जुवामा बैंकको सञ्चिती रकम लगानी वा दुरूपयोग गरेको भन्ने छ,’ उनले भने, ‘तर, त्यो हाम्रो अनुसन्धानबाट खुलेको कुरा होइन। अनुसन्धानका क्रममा नयाँ कुरा पनि पत्ता लाग्न सक्छ।’
डिएसपी दाहालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा बैंकका तत्कालीन शाखा प्रबन्धक शाही लगायतका कर्मचारीले मिलेमतोमा बैंकको भल्टमा रहने संचिती रकम दुरूपयोग गरेको भन्ने साबिती बयान भने गरिसकेका छन्।
तत्कालीन कर्मचारीहरूले कहिलेदेखि बैंकको भल्टमा रहने संचिती रकम के प्रयोजनका लागि प्रयोग गर्न थालेको हुन त्यसबारे भने प्राविधिक विश्लेषण सहितको अनुसन्धानपछि मात्रै स्पष्ट खुल्ने डिएसपी दाहालले बताए।
दार्चुलास्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वरको भल्टमा रहने ठूलो धनराशी हिनामिना गरेको पाइएपछि तत्कालीन शाखा प्रबन्धक शाहीसहित चार कर्मचारीलाई निलम्बन गरे पनि तत्काल अन्य कर्मचारीको व्यवस्थापन गरी बैंकको गोकुलेश्वरको खाता भने निर्वाध सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।
‘ग्राहकको पैसा सुरक्षित छ,’ डिएसपी दाहालले भने, ‘ग्राहक आत्तिनु पर्ने वा डराउनु पर्ने कुनै अवस्था छैन भनेर बैंकका पदाधिकारीहरूले भनेका छन्।’
कुनै पनि ग्राहकले शाखा कार्यालयबाट ढुक्कले लेनदेन गर्न सक्ने अवस्था रहेको पनि बैंकका एक कर्मचारीले बताए।
बैंकका सूचना अधिकारी अनुज आचार्यले बैंकको शाखाका केही निश्चित कर्मचारीको मिलेमतोमा बदमासी भएको बताए।
‘उनीहरूले मिलेर भल्टको रकम नचाहिने इन्ट्री गरी भल्टको ठूलो रकम चोरी गरेको प्रारम्भिक अडिटबाट खुलेको छ,’ सूचना अधिकारी आचार्यले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट त्यो रकम उनीहरूले अनलाइन जुवामा लगाएको खुलेको छ।’
अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको उनले बताए। नेपालमा वान एक्स बेट बर्जित छ।
‘हाम्रो आन्तरिक अनुसन्धानले अनलाइन जुवामा रकम लगाएको देखायो,’ सूचना अधिकारी आचार्यले भने, ‘प्रहरीमा हामीले जाहेरी दिएको छौं आरोपितहरू पक्राउ परेका छन्। बाँकी कुरा प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरी सत्य पत्ता लगाउने छ।’
तीन महिना पहिले अडिटमा जाँदा सबै कुरा ठिकठाक देखिएको भए पनि पछिल्लो समय बैंकको संचिती रकम फेला नपरेपछि अडिटसहतिको टोली अनुगमनमा जाँदा बदमासी भएको फेला परेको आचार्यले बताए।
उनले पनि ग्राहकको रकम भने सुरक्षित रहेको हुँदा आत्तिनुपर्ने कुनै अवस्था नरहेको जानकारी दिए।