कारागार कार्यालय बाँकेका जेलर जालन्धर भूसाललाई कैलाली कारागारमा काजमा खटाइएको छ।
कारागार कार्यालय कैलालीका प्रमुख बसन्त खत्री बिदामा रहेकाले उनका ठाउँमा भूसाललाई काजमा खटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
उनको ठाउँमा शनिबार नै भूसाललाई खटाइएको जोशीले बताए।
'सरूवा गरिएको होइन। जेलर खत्री बिरामी बिदामा रहेकाले उहाँ हाजिर नहुन्जेलसम्मका लागि भूसाललाई प्रमुख तोकिएको हो,' जोशीले सेतोपाटीसँग भने।
जेलर खत्री बिदा बसेपछि रामकुमार चौधरीले निमित्त कारागार प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
कैलाली कारागार प्रमुख खत्री बिदा बसेकै समयमा शुक्रबार कैदीबन्दीहरूको दुई समूहबीच झडप भएको थियो।
झडपमा परी धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । उनी ६ महिना पहिले मात्रै लागुऔषध मुद्दामा जेल परेका थिए।
घटनामा थप ४७ जना घाइते भएका थिए । घाइते मध्य गोदाबरीका आयुस भट्टलाई उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको थियो।
अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये रबि चौधरीको अवस्था गम्भीर छ।
शनिबार दिनभरिजसो कैदीबन्दीहरुले आफै कारागार भित्र ताला लगाएर बसेका थिए।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकतत्वमा ५ सदस्य समिति गठन भइसकेको छ।
जोशी नेतृत्वको समितिमा जिल्ला प्रहरी प्रवक्ता डिएिसपी राजकुमार सिंह, सशस्त्रका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य छन् भने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी सदस्य सचिव रहेका छन्।
यो छानविन समितिलाई दस दिनभित्र प्रतिबेदन बुझाउन भनिएको छ ।
कैलाली कारागार भित्र एक जनाको ज्यान जाने गरि भएको झडपपछि गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग शनिबार नै ब्रिफिङ लिएका थिए।