कोही सेल्फी खिचिरहेका छन्, कोही प्राचीन मन्दिरको आकृति र तिनमा प्रयोग भएका कलाकौशल र तिनको सांस्कृतिक वैभव देखेर छक्क परिरहेका छन्।
त्यसो त, कृत्रिम झरनाको मनोरञ्जन लिँदै काठमाडौंको सभ्यताको उद्गम थलो बागद्वार पुगेझैं अनुभूत गर्नेहरू पनि छन्।
यो दृश्य हो, काठमाडौंको उत्तरपूर्वी क्षेत्र जोरपाटी चोकको।
सुन्दरीजल जाने प्रवेश विन्दु, गोकर्णेश्वर–६ मा अहिले सिंगो नगरको वैभव प्रतिविम्बित गर्ने गरी मठ–मन्दिर र पर्यटकीय स्थलहरूको आकृति कुँदिएको छ।
गोकर्णेश्वर नगरपालिकाले आफ्ना क्षेत्रभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरूको चिनारी दिन उक्त कलाकृतिको सहारा लिइएको हो।
‘धेरै मानिसहरू सुन्दरीजल घुम्न आइरहेका हुन्छन्। बागमती नदी बग्ने सुन्दरीजल काठमाडौं लैजाने खानेपानीको मुहान क्षेत्र मात्रै होइन, ठूलो पर्यटकीय गन्तव्य पनि हो। यहाँ आन्तरिक एवम् बाह्य पर्यटक आइ नै रहेका हुन्छन्। तर धेरैलाई बागद्वार कता पर्छ थाहा नहुन पनि सक्छ। त्यस्तै, काठमाडौंका शक्ति पीठहरूमध्ये एक चामुण्डा, पूर्वी काठमाडौंकै वैभव कान्तिभैरव, उत्तरगयाधाम पनि थाहा नहुनसक्छ, यी सबैको परिचय झल्काउन हामीले भित्तेचित्रको सहारा लिएका हौं,’ गोकर्णेश्वर नगरप्रमुख दीपक रिसालले भने।
जोरपाटी–शंखरापुर (साँखु) प्राचीन व्यापारिक मार्ग हो। लिच्छविकालदेखि नै त्यसबाटोले व्यापारिक मार्गको परिचय पाएको स्थानीय एवम् अध्येता बताउँछन्। जोरपाटी चोकमा दुईवटा पाटी रहेको र किनमेलका लागि उत्तरपूर्वी नाका भएर काठमाडौं आएकाहरू त्यहाँ बास बस्ने गर्थे।
त्यसको ऐतिहासिकताको जगेर्ना गर्न अहिले जोरपाटीचोककै दुईवटा पाटी पुनर्निर्माण गरिएको र भित्तेचित्र बनाइएको ठाउँमा पनि दुईवटा फल्चा बनाइएको नगरप्रमुख रिसालले बताए। एउटा निर्माण पूरा भएको छ। अर्को निर्माणाधीन छ।
त्यसो त, गोकर्णेश्वर–४ गोकर्णको उपवनसँगै प्राचीन गाउँ पनि छ। गोकर्णदेशे गाउँका रूपमा विख्यात उक्त क्षेत्र मल्लकालीन वैभवका रूपमा परिचित छ।
‘यति मात्र होइन, नेपाली तीर्थयात्रीहरू अहिले भारतको चारधाम जानेगर्छन्। तर चारधामको यात्रा सुरू गर्नुपूर्व उत्तरगया क्षेत्रमा तीर्थश्राद्ध गर्नुपर्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ। यो थाहा दिनका लागि पनि हामीले भित्तेचित्र बनाएका हौं। त्यसबाहेक गोकर्णेश्वरमा धेरै त्यस्ता ठाउँछन्, तिनको परिचय विस्तार गर्न अपरिहार्य भइसकेको छ,’ उनले भने।
नगरप्रमुख रिसालले अरू आठवटा भित्तेचित्र बनाउन बाँकी रहेको पनि बताए।
‘नगरपालिकाको चिनारी अभिवृद्धिका साथै आय उकास्न पनि हामीले खोजेका छौं। त्यसैको अंगको रूपमा भित्ते चित्रलाई हामीले बुझ्नुपर्ने हुन्छ,’ उनले भने।
नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ, चामुण्डा, गोकर्णेश्वर महादेवको मन्दिर, बागमती नदीको उद्गमविन्दु बागद्वार, तारेभीर, कान्तिभैरव लगायतका धार्मिक सम्पदा एवम् पर्यटकीय क्षेत्र भित्तचित्रमा समेटेको छ।
तस्बिरहरूः
-ink-1754708901.jpeg)
-ink-1754708899.jpeg)
-ink-1754708900.jpeg)
-ink-1754708900.jpeg)
-ink-1754708899.jpeg)
-ink-1754708899.jpeg)
-ink-1754708899.jpeg)
-ink-1754708898.jpeg)
-ink-1754708898.jpeg)