जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायु सक्रिय भए पनि बादलमा पर्याप्त जलवाष्प नहुँदा उल्लेखनीय वर्षा भएको छैन। मनसुनको न्यूनचापीय रेखा भने नेपालको तराईनजिकै छ।
पछिल्लो २४ घन्टामा दुई केन्द्रमा मात्रै भारी वर्षा मापन भएको विभागले जनाएको छ। झापाको अर्जुनधारामा २४ घन्टामा १२७.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिन्धुपाल्चोकको सेर्माथानमा १३२.६ मिलिमिटर वर्षा भएको छ। कास्कीको घलेखर्कमा १०७.६, लमजुङको भुजुङमा ९५.४, उदयपुरको चुरेमाईमा ८९.४ मिलिमिटर वर्षा भएको छ। अन्य केन्द्रमा हल्कादेखि मध्यम वर्षा भएको मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार साउनको २२ गतेसम्म ६७८.६० मिलिमिटर मात्रै वर्षा भएको छ। यो भनेको औसतभन्दा निकै कम वर्षा हो। अहिलेसम्म सरदर वर्षाको ४५.९ प्रतिशत मात्रै वर्षा भएको छ।
महाशाखाका अनुसार धनगढी, डडेलधुरा, दिपायल, सुखेर्तमा औसतभन्दा निकै कम वर्षा भएको छ। घोराहीमा सरदरभन्दा केही कम, भैरहवामा सरदरभन्दा निकै कम, नेपालगञ्जमा पनि निकै कम वर्षा भएको छ। जुम्लामा सरदर नै वर्षा भएको छ। जिरी, ओखलढुंगामा पनि कम पानी परेको छ।

काठमाडौंमा सरदर नै वर्षा भएको छ। जनकपुरमा न्यून मात्रै वर्षा भएको छ। पोखरामा पनि सरदरभन्दा न्यून वर्षा मापन भएको छ। सिमरा, विराटनगर, धरानबजारमा पनि न्यून वर्षा भएको विभागले बताएको छ।
मनसुन अवधिमा नेपालमा सरदर १४७२ मिलिमिटर वर्षा हुने विभागले बताएको छ। यसवर्ष बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको भनिए पनि साउन सकिनलाग्दा समेत पर्याप्त वर्षा भएको छैन।