दाङको तुलसीपुर उपमहानगरपालिकाका पोषण न्यौपानेको दायाँ खुट्टामा समस्या छ। निको पार्न खोज्दा अपरेसन असफल भएपछि उनी अपांग बने। तर अहिले उनै पोषणले कृत्रिम खुट्टा बुझिलिएको भनेर उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखामा झुटो विवरण भेटिएको छ।
२०८१ जेठ २४ गतेको पोषणले कृत्रिम खुट्टा बुझिलिएको विवरण छ। पोषण भने आफूले कृत्रिम खुट्टा नपाएको बताउँछन्।
‘मैले कृत्रिम खुट्टा पाएको पनि छैन र मैले कतै हस्ताक्षर गरेको पनि छैन,’ पोषणले भने, ‘मेरो हस्ताक्षर किर्ते गरी कसैले बदमासी गरेको रहेछ, अहिले बल्ल थाहा पाउँदै छु।’
पोषणको पुर्ख्यौली घर तुलसीपुर उपमहानगरपालिका –१३ फूलबारी हो तर उनी तुलसीपुर बजारमा बस्दै आएका छन्।
‘म जतिखेर पनि तुलसीपुरमै हुनेलाई थाहा नदिई कृत्रिम खुट्टा बुझिलिएको कुरा खुलेको छ,’ पोषणले भने, ‘अपांगता भएका व्यक्तिको हितमा काम गर्छौं भन्नेहरूले गरेको बदमासीमाथि अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ।’
यसका पीडित पोषण मात्रै होइनन्। तुलसीपुर–३ का प्रकाश न्यौपानेको हकमा पनि उस्तै बदमासी भएको उनी बताउँछन्।
‘मेरो पनि किर्ते हस्ताक्षर गरी सामग्री बुझिलिएको भन्ने तथ्य जनस्वास्थ्य प्रवर्द्धन शाखामा रहेछ,’ उनले भने, ‘मेरो नाममा बुझिलिएको सामग्री मैले अहिलेसम्म पाएको छैन।’
यसरी सामान नपाउनेमा तुलसीपुर–१३ का बामदेव नेपाली, तुलसीपुर–७ का प्रमित चौधरी, तुलसीपुर–१९ का गिता बुढा र तुलसीपुर– ९ का रमेश केसी छन्। सेतोपाटीसँगको कुराकानीमा उनीहरूले पनि सामान नपाएको बताएका छन्।
किर्ते हस्ताक्षर गरी सक्कली अपांगता भएका व्यक्तिले सामान नपाएको दोष उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखा अन्तर्गत अपांग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेलमाथि लागेको छ।
अर्कातर्फ संयोजक कँडेलले अपांग व्यक्तिका लागि कुनै कार्यक्रम नगरी जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेलाई किर्ते कागजात बुझाए।
कँडेलले अपांगता भएका व्यक्तिलाई फोन सम्पर्क गर्ने, कार्यालयसम्म बोलाउने लगायत कुनै काम नगरेको देख्दादेख्दै प्रमुख न्यौपानेले फाइल सदर गरिदिँदा उनीमाथि पनि प्रश्न खडा भएको हो।
न्यौपानेले अपांगता व्यक्तिहरूले पाउने सहायक सामग्रीको नापजाँच तथा ट्रायल फिटिङको कार्यक्रम आयोजना गर्नेुपर्ने थियो। आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक बहन नगरी २०८१ जेठ २४ गते खरिद गर्ने जिम्मेवारी पाएको जनस्वास्थ्य प्रवर्द्धन शाखा र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडिसी) द्वारा एक जनालाई निःशुल्क सहायता सामग्री वितरण गरेको फाइल सदर गरिदिन्छन्।
एक जनालाई एचआरडिसीले निःशुल्क सहायता सामग्री प्रदान गरे पनि अन्य १९ जनाको हकमा तुलसीपुरले उपमहानगरले दिने भनेर ८ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही कागजात पेस गर्दै २०८१ असार २४ गते प्रमुख न्यौपानेले पालिकाबाट ७ लाख ८० हजार रूपैयाँ पेश्की बुझेका छन्।
पेश्की रकम बुझेको नौ महिनापछि अर्थात् फागुन ६ गते मात्रै खरिदको ठेक्का पाएको कम्पनीलाई भुक्तानी गरेको भेटिएको छ।
शाखा प्रमुख न्यौपानेका अनुसार ६ जनाले सामग्री नपाएको हुँदा पेश्की स्वरूप पठाइएको भुक्तानीबाट एक लाख ८७ हजार पाँच सय रूपैयाँ खरिदकर्ता संस्थाबाट बिहीबार मात्रै उपमहानगरपालिकाको खातामा फिर्ता भइसकेको छ।
तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्थेका अनुसार बिहीबार उक्त संस्थाले २ लाख ६ हजार २५० रूपैयाँ १० प्रतिशत जरिवानासहित पेश्की बापतको रकम फिर्ता गरेको हो।
अपांगता व्यक्तिहरूले पाउने सहायक सामग्रीमा हिनामिना भएको बाहिरिएपछि तुलसीपुरका मेयर टीकाराम खड्काले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन समेत दिएका छन्।
‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर आवश्यक छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिइसकेको छु,’ मेयर खड्काले भने, ‘गल्ती गर्ने जो सुकै होस् उसले उन्मुक्ति पाउनु हुँदैन।’
स्रोतका अनुसार मेयर खड्काले स्वास्थ्य शाखा प्रमुखलाई कार्यकक्षमै बोलाएर पनि सोधपुछ गरेका थिए।
‘तपाईंको बारेमा कोही अख्तियार पुगे जागिर नै जान सक्छ भन्दै मेयर सापले प्रमुखलाई र्याखर्याख्ती पार्नु भएको थियो। त्यतिखेर न्यौपानेले मेरो गल्ती छैन भन्दै आफ्नो बचाउ गर्दै फर्किनु भएको छ,’ स्रोतले भने।
अर्कातर्फ स्वास्थ्य शाखा प्रमुख न्यौपाने संयोजक कँडेललाई विश्वास गरी काम गर्दा आफू बदनाम हुनुपरेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गर्छन्।
‘कसैको कोहलपुर, काठमाडौं र कसैले दाङमै ती सामग्रीको नापजाँच तथा ट्रयाल फिटिङको कार्यक्रम गरेको हो, ‘सामान नपाएका छ जनाले आफै समन्वय गरी कोहलपुर पुगेर सामान ल्याउन सक्ने अवस्था थियो। तर उहाँहरूले त्यसो नगर्दा ढिलाइ भएको हो। अर्को वर्ष पाइहाल्ने हुँदा यो ठूलो समस्या होइन।’
छ जनाले पाउने सामग्रीको पेश्की रकम भुक्तानीबाट एक लाख ८७ हजार ५०० रूपैयाँ खरिद ठेक्का पाएको संस्थाबाट फिर्ता गर्नेबारे कुरा भइरहेको समेत उनले बताए।
उनलाई नौ महिनासम्म पेश्की बुझेको रकम व्यक्तिगत खातामा किन राख्नुभयो भन्ने प्रश्न गरेका थियौं।
अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामान नापजाँच गरी बनाउँदा समय लाग्ने भएर व्यक्तिगत खातामा राख्नु परेको उनले स्वीकारे।
पालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले २० जनाको सहायता सामग्रीबापत् करसहित ५ लाख ४५ हजार ८०० रूपैयाँ एचआरडिसी संस्थालाई भुक्तानी गरेको थियो।
संयोजक हुमकान्त कँडेलले खातामा पैसा नआएको र आयोजक नभएको हुँदा आफू निर्दोष रहेको दाबी गरे।
‘मेरो भूमिका समन्वयको मात्रै थियो,’ उनले भने, ‘माथिकाले जे जस्तो गर भने मैले त्यति मात्रै गरेको हुँ।’
तर, उनले केही व्यक्तिको किर्ते हस्ताक्षर गरिदिएको स्वीकार्दै सेतोपाटीसँग फोनमा धेरै कुरा नगर्ने बताए।
‘फोनमा धेरै कुरा नगरौं बरू भेटेर धेरै कुरा गरौंला,’ उनले भने, ‘किर्ते हस्ताक्षर गर्नु मेरो गल्ती थियो भन्ने महसुस भएको छ।’
अपांग समाज सुधार केन्द्र तुलसीपुरले कार्यक्रम संयोजक कँडेललाई बुधबार पदबाट निलम्बन गरिसकेको छ।
अपांग समाज सुधार केन्द्रको बैठकपछि अध्यक्ष ईश्वरीप्रसाद खड्काले वक्तव्य जारी गर्दै कार्यक्रम संयोजक कँडेललाई निलम्बन गरी छानबिन गर्ने निर्णय भएको बताए। त्यसका लागि आन्तरिक छानबिन समिति गठन गरिएको छ। सोही प्रतिवेदनका आधारमा अघि बढ्ने उनको भनाइ छ।
गत आर्थिक वर्ष २०८०/०८१ का लागि तुलसीपुर उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिका लागि कृत्रिम हातखुट्टा तथा सहायक सामग्री खरिद तथा वितरणका लागि भनेर ८ लाख रुपैयाँ विनियोजन गरेको थियो।
त्यसका लागि दुई संस्था विकलाङ्ग मित्र समूह र अपांंग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपाले सामाग्री खरिद तथा उपलब्ध गराउने जिम्मेवारी प्राप्त गरेको थियो।