शनिबार दिउँसो दाङमा मोटरसाइकलले ठक्कर दिएकी गौमती रोकाको आइतबार मृत्यु भयो।
उनलाई हिँडिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगडीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो साढे २ बजेतिर ठक्कर दिएको थियो।
तुलसीपुर–७ की बासिन्दा ६५ वर्षीया गौमतीको छातीमा भित्री चोट लागेको थियो। उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शनिबारै बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा लगिएको थियो। उपचार क्रममा उनको मृत्यु भयो।
उनको पोस्टमर्टम भेरी अस्पताल नेपालगञ्जमा आइतबार गरियो।
गौमतीलाई ठक्कर दिने मोटरसाइकल तुलसीपुर–७ कै १६ वर्षीय किशोरले हाँकेका थिए। पछाडि सोही ठाउँका १४ वर्षीय अर्का किशोर बसेका थिए। इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार उनीहरू दुवै सामान्य घाइते छन्।
मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन। रा. ५ प २६७८ नम्बरको मोटरसाइकल किशोरकी आमा मिना भुसालको नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार लाइसेन्स नभएको व्यक्तिलाई मोटरसाइकल चलाउन दिएकाले सवारीधनी मिनालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।
'अन्य मानिसले यस्तै गल्ती नदोहोर्याऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको हो। आफ्नो मान्छे भन्दैमा लाइसेन्स नभएको व्यक्तिलाई आफ्नो सवारी दिए र यस्ता दुर्घटना भए सजायको भागीदार सवारीधनी नै हुनुपर्छ,' उनले भने।
घटना अनुसन्धानका लागि भन्दै जिल्ला अदालत दाङले आइतबार नै प्रहरी हिरासतमा रहेकी मिनालाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ।
आइतबार पाँच दिनको म्याद थप भएकाले घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।