'तपाईंको नागरिकतामा बुबाको नाम छैन। किन नराख्नुभएको? यस्तो नागरिकता काम छैन। सम्बन्धित निकायबाट सिफारिस लिएर आउनुहोस्!'
जुनसुकै सरकारी निकाय पुगे पनि मोरङकी १९ वर्षीया आकृति (नाम परिवर्तन) लाई यस्ता भनाइले साथ छाड्दैन।
कति पटक उनी कागजातमा जे छ, त्यही लेखिदिन अनुरोध गर्छिन्। कहिले आमाको नामले पुग्दैन र भनेर झोंक्किन्छिन्।
बुबाको नाम नभई हुँदैन भनेर अडान लिनेहरूलाई उनी अदालतको फैसलाको कागजात दिन्छिन्।
जिल्ला अदालत मोरङको सो फैसलामा उनलाई उनका बुबाले बलात्कार गरेको ठहर छ।
त्यो दिएपछि कर्मचारी थप बोल्दैनन्।
तर पटक पटक बुबाको नाम नराख्नुको कारण यसरी देखाइरहनुपर्दा आकृतिको मन कुँडिन्छ।
'त्यो कागजातका हरेक शब्दले मेरो भाउन्न छुट्छ। ती शब्द भयानक घटना बनेर मेरो आँखामा आउँछन्। बुबाप्रतिको घृणा अझै बढ्छ,' आकृतिले भनिन्, 'सबैका बुबा हिरो हुँदैनन्। म मेरो बुबालाई हिरो मान्दिनँ। होइन पनि।'
एकैछिनको मौनतापछि उनले फेरि भनिन्, 'बुबा भनेको रक्षक, संरक्षक हो भन्छन्। मेरा लागि यो सबै भ्रम हो। जसले ममाथि पटक पटक बलात्कार गर्यो, उसलाई बुबा कसरी भन्नु, कसरी मान्नु?'
आकृतिका अनुसार उनी जतिखेर बुबाको हात समातेर हिँड्न चाहन्थिन्, त्यति बेला बुबाले उनको शरीर छोए। सपनाहरू डोहोर्याउँदै उड्न सिकाउनुपर्ने उमेरमा बन्द कोठाभित्र थुनिदिए। अँगालोमा न्यानो र सुरक्षित महसुस गराउनुपर्नेमा उनको जीवनमा अँध्यारो साया बनेर आए।
'छोरीमाथि बलात्कार गर्ने व्यक्ति बुबा हुन सक्दैन। त्यसैले म मान्दिनँ, नागरिकतामा नाम राख्दिनँ भन्दा कयौं दु:ख कष्ट झेल्नुपर्यो,' आकृतिले भनिन्।
आकृतिले पाँच वर्षअघि आफ्ना बुबाको जुन रूप देखिन्, त्यसले अहिले पनि उनलाई झस्काउँछ।
उनी साढे १३ वर्षकी थिइन्।
उर्लाबारीको एक निजी स्कुलमा कक्षा ८ मा पढ्थिन्। वैदेशिक रोजगारीमा गएका उनका बुबा २०७६ सालको दसैं मनाउन घर फर्किएका थिए।
बुबा धेरै समय विदेश बसेकाले आकृतिलाई बुबाको माया, ममता, छत्रछाया कस्तो हुन्छ भन्ने धेरै अनुभव थिएन। साथीहरूका बुबा देख्दा आफ्नो बुबा पनि घरमै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
बुबा आएपछि उनी दंग थिइन्। तर उनीसँग धेरै समय नबिताएकाले नयाँ मान्छे जस्तो लाग्थ्यो। उनी बिस्तारै घुलमिल हुँदै थिइन्। बुबासँग रमाउन सिक्दै थिइन्।
'तर मलाई उहाँको छुवाइ असहज लाग्न थाल्यो,' उनले भनिन्, 'स्कुटी किनिदिन्छु, सिक्री बनाइदिन्छु भनेर फकाई फकाई संवेदनशील अंगहरू छुने, चलाउने गर्न थाल्नुभयो। म अलमल्ल परेँ। बुबाले यसरी नै माया गर्ने हुन् कि भन्ने पनि पर्यो। कसैलाई केही भन्न पनि सकिनँ।'
बुबाको व्यवहारले मनभित्र आँधी चलिरहेको थियो। उकुसमुकुस हुन्थ्यो। तर भर्खरै किशोर उमेर लाग्दै गरेकी उनले के भइरहेको हो भन्ने भेउ पाउन सकिनन्।
यस्तै उधेडबूनबीच केही महिना बिते।
मंसिर ७ गते, शनिबार, दिउँसो।
उनकी आमा बहिनीको घर गएकी थिइन्। घरमा आकृति कोठामा बसिरहेका बेला उनका बुबा गिलासमा पानी बोकेर आए खान भने।
'के हो खादिनँ भनेपछि पिट्नुभयो। मैले डराएर पिएँ,' उनले भनिन्, 'एक छिनपछि रिंगटा लागेजस्तो भयो। अनि राम्रो होस रहेन। शरीरमाथि पहाडले थिचेजस्तो भारी भएको थियो।'
जब उनको अलि होस खुल्यो, उनले आफूलाई ओछ्यानमा ब्ल्यांकेट ओढाइएको अवस्थामा पाइन्। कम्मरमुनिको भागमा लुगा थिएन।
'पेट र पिसाबघर दुखिरहेको थियो। खुट्टा चलाउन सकेको थिइनँ। योनीबाट रगत बगिरहेको थियो,' उनले भनिन्, 'के भयो भनेर आत्तिएँ र रून थालेँ।'
रून थालेपछि बुबा आए र उनलाई उठेर नुहाउन भने। उनी उठ्नै सकेकी थिइनन्। दुखाइ सहन नसकेर रोइन्, कराइन्। आमालाई भनिदिने भन्दै डाँको छाडिन्। बुबाले उनलाई उल्टै धम्क्याए।
'आमालाई भनिस् भने म जेल जानुपर्छ, तिमीहरूलाई कसले पाल्छ, कसले खान दिन्छ, बोर्डिङ स्कुल पनि पढ्न पाउँदैनौ भनेर डर देखाउनुभयो। कसैलाई भनिस् भने कुट्छु भन्दै तर्साउनुभयो,' आकृतिले सुनाइन्।
कलिलो उमेरकी आकृतिको सातो गयो। उनी केही बोल्न सकिनन्। आमा आएपछि पनि बिरामी भएको भन्दै कोठाभित्रै बसिरहिन्। उनको योनीबाट रगत बगिरह्यो। आठ–दस घन्टासम्म पनि रोकिएन।
धेरै रगत बगेपछि बुबाले नै औषधि ल्याएर खुवाए। अर्को दिन उनी स्कुल जान सकिनन्।
अनि उनले सबै कुरा आमालाई सुनाइन्।
'आमाले त यी कुरा कसैलाई सुनाइस् भने झुन्डिएर मर्छु भन्नुभयो। आमाले नै नबुझेपछि अरू कसैलाई भन्ने हिम्मत नै आएन,' उनले भनिन्।
उनी औषधि खाएर बिस्तारै तंग्रिदै थिइन्।
'मंसिर २३ गते पुनः बुबाले पहिले जसरी नै बलात्कार गर्नुभयो,' उनले भनिन्, 'तर कसलाई भन्न सक्नुथियो र!'
दुखाइले उनी रातभर सुत्न सकिनन्। स्कुल छुट्दै गयो। बिस्तारै शरीरको पीडा कम हुँदै गर्दा बुबाले घरबाट निस्किन रोक लगाए। आमाले पनि स्कुल नजान भनिन्। आकृति घरमै बसिन्।
डेढ/ दुई महिनापछि उनको परिवार डेरा सर्यो।
त्यहाँ पनि बुबाको हर्कत छुटेन। आकृति एक्लै हुँदा शरीर छुने, चलाउने गर्न थाले। उनलाई तलमाथि, बाहिर कतै जान दिँदैन थिए। स्कुल पनि जानुपर्दैन भन्थे।
एक दिन बुबा विदेश जाने भनेर काठमाडौं आए। आकृतिले राहतको सास फेरिन्। तर कसैलाई भनिस् भने पिट्छु भन्दै धम्की दिइरहेको उनी बताउँछिन्।
'तैपनि बुबा घरमा नभएकाले अलि ढुक्क भएकी थिएँ। चार महिना नहुँदै उहाँ फर्केर आउनुभयो,' आकृतिले भनिन्।
वैशाख दोस्रो सातातिर उनका बुबा घर फर्किए। आकृति डरले कुनै दिन राम्ररी निदाउन सकिनन्। बुबाको व्यवहारबारे कुनै प्रहरीलाई भन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर कसरी सम्पर्क गर्ने भन्ने थाहा थिएन।
घरमा एउटा ट्याबलेट थियो। उनले इन्टरनेटमा पथरी पुलिस भनेर खोजिन्। इलाका प्रहरी कार्यालय, पथरीको फेसबुक पेज भेटिन्। नम्बर पनि थियो। फोन गरिन्, उठेन।
'फोन नउठाएपछि पेज फलो गरेर मलाई बुबाले बलात्कार गर्नुभयो, बचाउनुहोस् भनेर आफ्नो नाम, थर, ठेगाना लेखेर म्यासेज पठाएँ,' उनले भनिन्।
त्यो म्यासेज प्रहरीले हेरिदिए हुन्थ्यो भनेर उनले कामना गरिरहिन्। बाहिर खत्र्याकखुत्रुक आवाज आउँदा पनि प्रहरी आए कि भनेर झ्यालबाट चिहाउँथिन्।
दोस्रो दिन, असार २९ गते उनका बुबा सधैंझैं काममा निस्किसकेका थिए। तीन–चार जना प्रहरी घरमा आए। सुरूमा आकृति डराएर बाहिर निस्किन सकिनन्। उनको नाम लिँदै प्रहरीले सोधपुछ गरेपछि निस्किएर आफ्ना कुरा भनिन्।
'प्रहरीले कार्यालयमा लिएर जानुभयो। सबै कुरा सुनेपछि बुबालाई पक्राउ गरेर ल्याउनुभयो,' उनले भनिन्, 'प्रहरीले नै कानुनी प्रक्रिया अगाडि बढाउन सघाउनुभयो।'
उनले बुबाविरूद्ध जाहेरी दिइन् र हाडनाता जबरजस्ती करणीमा मुद्दा दर्ता भयो।
बुबाले आरोप अस्वीकार गरे। आकृतिको योनी परीक्षण गर्दा कन्याजाली सामान्य अवस्थाभन्दा अलि बढी खुलेको रिपोर्ट आयो। परीक्षण गर्ने डाक्टरले पनि उनीमाथि बलात्कार भएको हुन सक्ने प्रमाण अदालतमा पेस गरिन्।
२०७८ पुस १३ गते जिल्ला अदालत मोरङले आकृतिका बुबालाई दोषी ठहर गर्यो। पुस २० गते मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) को कसुरमा २१९ कै उपदफा (३) बमोजिम जबरजस्ती करणीमा उनलाई बीस वर्ष कैद सजाय तोकियो। सोही ऐनको दफा २२० को उपदफा (१), (२) को (क) बमोजिम हाडनाता करणीमा जन्मकैद र ७५ हजार रूपैयाँ क्षतिपूर्ति गर्ने फैसला गर्यो।
'बुबा जेल जाने भएपछि मलाई ठूलो राहत भयो। तर म एक्लिएँ। आमाले समेत बुबालाई जेल पुर्याएको भन्दे किचकिच गर्न थाल्नुभयो,' उनले भनिन्।
नाबालिग भएकाले आकृतिको मुद्दा फैसला नहुन्जेल उनलाई सेफ–हाउसमा राखिएको थियो। त्यो बेला उनको पढाइ छुट्यो। फैसला भएको लामो समयपछि आमा उनलाई लिन आइन्। घरमा पनि किचकिच गरिरहिन्। स्कुल पनि पठाइनन्।
उनकी आमा र आफन्तले बुबालाई जेलबाट निकाल्न भन्दै २०७९ असार १२ गते उच्च अदालतमा विराटनगरमा पुनरावेदन दिए।
'आमा अदालत धाउनुहुन्थ्यो, मलाई गाली गर्नुहुन्थ्यो,' उनले भनिन्, 'गाली सहन नसकेपछि नागरिकता बनाएर घर छोड्ने सोचेँ।'
आमाले उनको नागरिकता बनाइदिन मानिनन्। त्यसपछि उनले आफूलाई सहयोग गर्ने अधिवक्ता र प्रहरीसँग सहयोग मागिन्। उनीहरूले आमालाई सम्झाइबुझाइ गरिदिएपछि आमा मानेको उनले बताइन्।
'मैले नागरिकतामा बुबाको नाम नराख्ने सोचेँ। यसबारे अधिवक्ताको सहयोगमा सिडिओसँग कुरा गरेँ,' उनले भनिन्, 'वडाको सिफारिस लिएर आएमा बुबाको नाम नराखी नागरिकता बन्ने पक्का भयो।'
वडाध्यक्षले भने बुबाको नाम नभएसम्म नागरिकता बन्दैन भन्दै सिफारिस दिन मानेनन्। उनी दोस्रो दिन आमालाई लिए गइन्। वडाध्यक्षले फेरि पनि सिफारिस दिन मानेनन्।
यसपछि आकृतिको धैर्यको बाँध टुट्यो। उनी वडा कार्यालयमै कराउन थालिन्। केही मान्छे जम्मा भए। उनीहरूले आमाको नामबाट नागरिकता पाउने कानुनी प्रावधान छ भन्दै दबाब दिए। धेरै मानिसले भनेपछि वडाध्यक्षले आकृतिको सिफारिस गरिदिए।
यसपछि आकृतिले नागरिकता बनाइन्।
'सिडिओसँग पहिला नै कुरा भएकाले पछि कुनै समस्या भएन,' उनले भनिन्।
उनी नागरिकता बनाउने दौडधुपमा लाग्दै गर्दा उनका बुबा जेलबाट बाहिर निस्किन पहल गरिरहेका थिए। जिल्ला अदालतको फैसलाविरूद्ध उनका बुबाले पुनरावेदन दिएकाले आकृतिले उच्च अदालत विराटनगरमा १५/१६ महिना दौडधुप गर्नुपर्यो। २०८० असोज ९ गते उच्चले जिल्लाकै फैसला सदर गरिदियो।
'उच्चले पनि आफूमाथि भएको घटना बुझेकामा केही राहत मिल्यो,' उनले भनिन्, 'बिस्तारै बाँच्ने रहर जाग्यो र पढ्ने सोचेँ।'
उनले कक्षा ८ कै परीक्षा दिन पाएकी थिइनन्। स्कुलमा गएर बुझिन्। स्कुलले बाँकी शुल्क तिर्नुपर्छ भन्यो। उनले यसबारे आफूलाई मुद्दामा सघाउने संस्थाका अधिकारकर्मीलाई भनिन्। उनीहरूकै सहयोगमा गत वर्ष कक्षा ८ को परीक्षा र उत्तीर्ण भइन्।
आकृति अहिले कक्षा ९ मा पढ्छिन्। तर अदालत धाइरहनुपर्ने भएकाले नियमित स्कुल जान पाएकी छैनन्। उनका बुबाले उच्च अदालत विराटनगरको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन्।
'हिँडिरहनुपर्छ। आफूसँग पैसा हुँदैन, कहिलेकाहीँ गाडी भाडा नभएर जान पाउँदिनँ। त्यस्तो हुँदा मुद्दा हारिन्छ कि भन्ने डर लाग्छ,' उनले भनिन्, 'आफूलाई असह्य पीडा दिनेलाई सजाय होस् भन्ने लाग्छ। मैले उहाँ मेरो बुबा हो भन्ने बिर्सिसकेँ। उहाँले मलाई छोरी सोच्नुभएन। म पनि उहाँलाई बुबा सोच्दिनँ। उहाँका कारण मलाई आज पनि बाँच्न गाह्रो भइरहेको छ।'
आकृति हाल भाइका साथमा विराटनगरमा डेरा गरी बस्छिन्। आमा वैदेशिक रोजगारीमा गएकी छन्। अझै पनि उनीसँग राम्ररी बोल्दिनन्। उनको हालखबर पनि सोधेकी छैनन्। भाइसँग मात्र कुरा गर्ने गरेको आकृतिले बताइन्।
उनका अनुसार आमाले भाइका लागि खर्च पठाउँछिन्। त्यसैले बस्ने, सुत्ने ठाउँ पाएकी छन्।
उनी बिहान–बेलुका गर्न मिल्ने काम खोजिरहेकी छन्। पढ्ने चाहना भएकाले कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ।
'एसइई पास भएपछि कमाएर तिर्थेँ,' उनले भनिन्, 'म सबै कुरा भुलेर परिवारबाट टाढा गएर बाँच्न चाहन्छु। आमाबुबाको व्यवहारले त घटना सम्झाइरहन्छ। सँगै बसेर ती कुराहरू भुल्न सम्भव छैन। त्यसैले पढेर आत्मनिर्भर हुने मन छ।'