मोटरसाइकलको ठक्करबाट घाइते एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ की ६५ वर्षीया गौमती रोकाको उपचारका क्रममा आइतबार बाँकेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगडीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा ५ प २६७८ नम्बरको मोटरसाइकलले पैदलयात्री रोकालाई ठक्कर दिएको थियो।
दुर्घटनामा पछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो।
उनको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शव पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ।
दुर्घटनामा परेर चालक तुलसीपुर–७ का १६ वर्षीय किशोर र मोटरसाइकल पछाडि सवार सोही ठाउँका १४ वर्षीय किशोर घाइते भएका छन्।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।