मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्दा तराई–मधेसमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा अहिले नेपालतर्फ छ। यो लामो समयसम्म भारततर्फ रहेको थियो। त्यसैले मधेस प्रदेश सुख्खा भएको थियो।
आइतबार बिहान पनि मधेसमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने पछिल्लो २४ घन्टामा प्रायः सबै केन्द्रमा वर्षा मापन भएको छ। कुनै पनि केन्द्रमा भारी वर्षा भने भएको छैन।
सप्तरीको बरमझियामा ९१.८, सिराहामा ९९.४, लाहानमा ७७.२, धनुषाको हर्दिनाथमा ४७, धनुषाको चिसापानीमा ६८.२, सिराहाको गोलबजारमा ५२.२, महोत्तरीको गौशालामा ५७.६, धनुषाको तुलसीमा ४७.६, सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ। बारा, पर्सा, रौतहटमा भने हल्का मात्रै वर्षा भएको छ।