मधेसमा अन्ततः वर्षा भएको छ।
लामो समयको खडेरीपछि सुख्खाग्रस्त मधेसमा पछिल्लो चौबीस घन्टामा हल्कादेखि मध्यम वर्षा भएको छ।
पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषा जिल्लाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेशका बाँकीका केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ।
वर्षाका कारण मधेसका मानिसहरूले राहत महसुस गरेका छन्।
बर्खामा पनि एक झर पानी राम्ररी नपर्दा मधेसवासीहरू चरम खडेरीको चपेटामा परेका थिए। यसले खेतीका लागि मात्र होइन पिउने पानीका लागि मधेसमा हाहाकार मच्चिएको छ।
वर्षाकै पानीको भरमा रहेका जमिनमा यसपालि समयमै धान रोप्न पाएनन्। यसले यो वर्ष चरम खाद्य संकट ब्यहोर्नुपर्ने अनुमान विज्ञहरूले गर्दै आएका छन्।
सरकारले मधेसका आठै वटा जिल्लालाई संकटग्रस्त घोषणा गरी त्यहाँ सिँचाइका लागि वैकल्पिक माध्यमहरुको खोजी सुरू गर्न भनिएको छ।
केही जिल्लामा डिप बोरिङ खन्ने प्रक्रिया अघि बढिसकेको छ।
यस्तोमा मधेसमा पछिल्लो चौबीस घन्टामा परेको पानीले त्यहाँका जनताले त्राण पाएका छन्।
शनिबार राति पनि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।