बलात्कार मुद्दामा मधेसका पूर्वप्रदेश प्रमुख अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
अहिराजलाई डिल्लीबजार कारागारमा पठाइएको छ।
मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले अहिराजविरूद्ध बलात्कारको कसुरमा मुद्दा दायर गरेको थियो।
काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप अहिराजमाथि छ।
अहिराज साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए।
गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो।
जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन। प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए।
घटना २०८१ जेठ ४ गतेको हो।
अहिराजले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा पटक-पटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।
बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।
पीडितले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले नगरेको आरोप छ। पटक-पटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्।
उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्।
पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो।
कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो।
सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।
यस्तै अहिराजले पनि पीडित युवतीविरूद्ध जाहेरी दिएका थिए। आपराधिक लाभ लिन नहुने कसुरमा अहिराजले जाहेरी दिएका थिए। ती युवतीविरूद्ध पनि बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
अहिराजले जाहेरीमा बेलाबेलामा युवतीले रकम माग गरेको पनि दाबी गरेका छन्।
२०८१ भदौ १८ गते युवतीले बैंकको नम्बर दिएर रकमको माग गरेको पनि अहिराजले बताएका छन्।
पछि नगद नै माग गरेको भनेर २० लाखमध्ये तीन लाख रुपैयाँ नगद लिएर आफू युवतीको होस्टलमा पुगेको पनि अहिराजले जाहेरीमा उल्लेख गरेका छन्।
पीडित युवतीले भने उक्त रकम आफ्नै भएको पनि सरकारी वकिलसँग बयानमा बताएकी छन्।