चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे नामक हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जना सैनिक घाइते भएका छन्।
बुधबार बिहान ७ बजेतिर ड्युटी सकेर फर्किँदै गरेका सैनिकहरूमाथि हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए।
उनका अनुसार आक्रमणबाट एक जना सैनिक घाइते छन्। घाइते हुनेमा हवल्दार ३८ वर्षीय नन्दबहादुर सिंह छन्।
हात र ढाडमा चोट लागेका उनको टाडीस्थित अस्पतालमा उपचार भइरहेको छ।
सेनाले तीन राउण्ड हवाइफायर गरेपछि हात्ती भागेको थियो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ड्युटीबाट फर्किँदै गर्दा हात्तीले पछाडिबाट आक्रमण गरेको हो।
हवल्दार सिंहसहितको सैनिक टोली रातभरि मचानमा ड्युटी गरी पोष्टमा फर्किएका थिए।
‘फर्किनेक्रममा पछाडिबाट आक्रमण गरेको हो। घाइते सामान्य छन्,’ उनले भने।