सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।
उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए। उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए।
‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ’ उनले भने, ‘उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ।’
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए। उनीहरूकाबारेमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।