नक्कली सुन देखाएर २१ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर, ठिमी–८, बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८, सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले दुई जनाबाट साढे २१ लाख रूपैयाँ ठगेका हुन्।
नक्कली सुनलाई सक्कली र प्रतितोला एक लाख १० हजार रूपैयाँमा दिने भन्दै गत फागुन २५ गते ओखलढुंगाका ढकबहादुर बुढाथोकीबाट १२ लाख र जेठ २७ गते दोलखाका अर्जुन बस्नेतबाट ९ लाख ५० हजार लिई उनीहरू फरार थिए।
उनीहरूको साथबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु बरामद गरिएको थियो। दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सूचना अधिकारी आचार्यले बताए।