सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा जंगलछेउ एउटा घर छ।
एकान्तमा रहेको उक्त घरमा लोपोन्मुख हायु जातीका एक परिवार बसोबास गर्दै आएका थिए।
जस्तापाताले छाएको मुल घरको पालिमा खरले छाएको भान्साकोठा थियो। आगलागीले भान्साकोठा जलेको देखिन्छ।
१६ जनाको परिवार बसोबास गर्दै आएको घर सोमबार सुनसान देखेपछि गाउँलेहरूले सोधखोज सुरू गरेका छन्। जनप्रतिनिधि र प्रहरीले पनि उनीहरूको खोजी थालेका छन्।
वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उनीहरूले हालै भत्ता बुझेका थिए।
‘हायु समुदायका उनीहरूलाई सरकारले भत्ता दिने गर्छ, तीन-चार दिनअघि परिवारका सबै सदस्यहरूले भत्ता बुझेका थिए,’ उनले सेतोपाटीसँग भने।
हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही चार हजार रुपैयाँ भत्ता दिने गरेको छ। यो परिवारले प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले १ लाख ८० हजार रुपैयाँ भत्ता झिक्न वडाबाट साउन ९ गते सिफारिस लगेका थिए।
यो परिवार नै सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको उनले जानकारी दिए। ‘उनीहरू घरमा छैनन् भन्ने आज बिहान मात्रै थाहा भयो, खोजी सुरू गरेका छौं, तीन-चार दिनअघि भत्ता बुझेका रहेछन्,’ उनले भने।
उर्मिला हायुको परिवारमा १८ जना सदस्य थिए। एक बुहारी विदेश र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। यो घरमा भने उर्मिला, ६ जना छोरा, ६ जना छोरी, एक जना ज्वाइँ, एक बुहारी र एक नाति गरी १६ जना बस्दै आएका थिए।
‘गाउँलेहरूले गत शुक्रबार उनीहरूलाई देखेका रहेछन्, त्यसपछि कसैले पनि देखेको रहेनछ,’ उनले भने, ‘खुर्कोटतिर गएका छन् रे भन्ने हल्ला सुनिएको छ, यकिन छैन।’
घर एकान्तमा छ। नजिकको छिमेकीको घर जान १५ मिनेटजति लाग्ने पनि उनले बताए। ‘एकान्तमा घर भएकोले पनि यो परिवारका सदस्य कहिलेदेखि सम्पर्कविहीन छन् भन्ने यकिन छैन,’ उनले भने।
उनीहरूले भैंसी पनि पालेका छन्। छिमेकीको घरनजिकै छाप्रो बनाएर उनीहरूले भैंसीपालन गरेका थिए।
‘भैंसीलाई घासपात गर्न दिनहुँ उनीहरू छाप्रोमा आउँथे, त्यसबेला गाउँलेहरूसँग भेट हुन्थ्यो, कुराकानी पनि हुने गरेको रहेछ,’ उनले भने, ‘तर दुई-तीन दिनदेखि भैंसीलाई घाँसपात, कुडोपानी गर्न उनीहरू नआएपछि के भयो भनेर गाउँलेहरू हायुको घरमा गएका रहेछन्, घरमा कोही नदेखेपछि उनीहरूले वडा कार्यालयमा खबर गरे।’
वडाध्यक्ष श्रेष्ठ पनि सोमबार बिहान हायुको घरमा पुगेका थिए। ‘घरको एकापट्टी भाग आगलागी भएको देखिन्छ, तर घरमा कोही पनि भेटेनौं, घरका सामानहरू चाहिँ त्यसै छ,’ उनले भने।
उनीहरूले सुँगुर पनि पालेका थिए। तर त्यो सुँगुर केही दिनअघि काटेर मासु खाएको र केही बिक्रीसमेत गरेको पाइएको पनि उनले बताए। ‘दुई-तीन किलोजति मासु घरमै थियो,’ उनले भने, ‘दुई वटा बाख्रा र कुकुर भने घरमै रहेछन्।’
उर्मिला हायुका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो।
‘श्रीमानको मृत्युपछि उर्मिका परिवार ऋणमा डुबेको रहेछ, बैंक तथा वित्तीय संस्थाका मानिसहरू ऋण उठाउन पनि पटक-पटक घरमा पुगेका रहेछन्,’ उनले भने।
उनीहरूको परिवारका सदस्यहरूले मोबाइल प्रयोग गर्ने गरे पनि सबैको मोबाइल स्वीच अफ रहेको पाइएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। 'हामी यसबारे बुझ्दैछौं, प्रहरीहरू पठाइएको छ,' डिएसपी अनिल खड्काले सेतोपाटीसँग भने।
यी हुन् सम्पर्कविहिन भएका व्यक्तिहरू
१: ५२ वर्षीया उर्मिला हायू
२: २६ वर्षीया कमला हायू
३: २३ वर्षीया कोमलमाया हायू
४: ३९ वर्षीया उषा हायू
५: २१ वर्षीया सुजता हायू
६: २८ वर्षीया अस्मिता हायू
७: २९ वर्षीय राजु हायू
८: २४ वर्षीय हिमाल हायू
९: १६ वर्षीय लालबहादुर हायू
१०: १४ वर्षीय वेगबहादुर हायू
११: ११ वर्षीय लक्षमण हायू
१२: १२ वर्षीय सवर्ण हायू
१३: १० वर्षीया ओमकुमारी हायू
१४: १ वर्षीय अर्जुन हायू
१५: ४ वर्षीया रियासा हायू सहित एकजना ज्वाइँ बेपत्ता भएका छन्।