खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताएका छन्।
पाल्पाको तानसेनस्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारण सभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले 'पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार' भन्ने अत्यन्तै सान्दर्भिक नारालाई आत्मसात गर्दै खानेपानीको क्षेत्रमा यहाँका आम नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।
‘तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ,’ उनले भने, ‘भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि सरकार खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ।’
खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त बजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गरे।
स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दा बढी स्थानीय तहहरूमा बास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुर्याएको उनको जिकिर थियो।
‘स्वच्छ वातावरण, मौलिक पहिचान र सामाजिक सद्भावका कारण तानसेन आज पनि प्रेरणादायी सहरको रूपमा स्थापित छ,’ उनले भने, ‘तानसेन खानेपानी उपभोक्ता समितिले यस क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन पुर्याएको योगदान साँच्चिकै सराहनीय छ।’
मन्त्री यादवले सरकारले तराई–मधेसदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको जानकारी दिए।
उनले भने, ‘तराई–मधेससहित देशका विकट भू–भागमा समेत खानेपानीको सहज पहुँचका लागि सरकारले महत्वपूर्ण योजनाहरू अघि सारेको छ। पानीको समस्या समाधानलाई सरकारले पहिलो प्राथमिकता मानेर योजना अघि बढाइरहेको छ।’