फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंकी पत्नी ब्रिजिटलाई एक अमेरिकी पडकास्टरले पुरूष भनेपछि उनीहरूले उनीविरूद्ध मुद्दा हालेका छन्।
दक्षिणपन्थी पडकास्टर क्यान्डेस ओवेन्सले बारम्बार ब्रिजिटलाई पुरूष भनेर सार्वजनिक टिप्पणी गरेकी थिइन्।
अमेरिकाको डेलावेयर राज्यमा बुधबार २१८ पृष्ठ लामो उक्त मुद्दा दायर गर्दै म्याक्रों दम्पतीले ओवेन्सलाई कपोलकल्पित र मानहानि गर्ने खालको काल्पनिक कथाहरू प्रकाशित गरेको आरोप लगाएका छन्।
ओवेन्सले ब्रिजिटको जन्म जन-मिशेल ट्रोग्नेक्स नामक पुरूषको रूपमा भएको भन्ने दाबी गर्छिन्। म्याक्रों दम्पतीले दर्ता गरेको मुद्दामा उनीहरूको रगतको नाता रहेको पनि आरोप लगाएकी थिइन्। त्यस्तै इमानुएल म्याक्रों अमेरिकी गुप्तचर संस्था सिआइएको मानव प्रयोग वा त्यस्तै प्रकारको मस्तिष्क नियन्त्रण गर्ने सरकारी कार्यक्रमको उत्पादन भएको पनि बताएकी थिइन्।
म्याक्रों दम्पतीलाई मुद्दा जित्न भने मुश्किल हुनेछ। अमेरिकी मानहानि कानूनले सार्वजनिक व्यक्तित्वहरूले मुद्दा जित्नका लागि झूटो कुरा भन्ने थाहा हुँदा-हुँदै बदनियत साथ आरोप लगाएको भनेर प्रमाणित गर्नुपर्छ।
उनीहरूले ज्युरी ट्रायल र क्षतिपूर्तिको माग पनि गरेका छन्।
म्याक्रों दम्पतीका वकिलले उनीहरू मुद्दाको सुनुवाइका लागि व्यक्तिगत रूपमा डेलावेयरमा उपस्थित हुन समेत इच्छुक रहेको बताएका छन्।
ओवेन्सले पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरे पनि अहिले भने विरोध गर्छिन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)