अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय सर्भरमा समस्या आए पनि काम नरोकिने भएको छ।
यसअघि अध्यागमन कार्यालय केन्द्रीय सर्भरमा मात्रै निर्भर हुँदै आएको थियो। जुन बेलाबेलामा समस्या आएर अध्यागमनको काममा अवरोध हुने गरेको थियो।
सर्भरमा समस्या आउँदा कतिपय कालोसूचीमा रहने व्यक्तिहरू समेत फरार हुने गर्थे। यसकारण पनि अध्यागमनका प्रमुखहरू विवादित हुने गरेका छन्।
त्यो समस्याको समाधान गर्न अध्यागमन कार्यालयले लोकल डेटा सेन्टर स्थापना गरेको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार साउन १ गतेदेखि छुट्टै सर्भर पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। अब केन्द्रीय सर्भरमा समस्या उत्पन्न भए पनि बिना अवरोध नेपाली पोर्ट (अध्यागमनले कामकाज गर्ने पोर्टल- अध्यागमन सूचना प्रणाली) सञ्चालन गर्न सकिने भएको हो।
‘अब सर्भर डाउन हुने समस्या र कालोसूची लगायतका व्यक्तिहरूले समेत उक्त अवधिमा प्रस्थान अनुमति प्राप्त गर्न सक्ने अवस्था हटेको छ,’ कोइरालाले भने, ‘सर्भर बन्द हुँदा हातैले काम गरेर मानिसहरूलाई पठाउनुपर्थ्यो। त्यही बेला कतिपय कालोसूचीमा हुनेहरू पनि छुट्ने हुन्।’
कोइरालाको कार्यालयबाट गृह मन्त्रालयमा सरूवा भइसकेको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय खोटाङबाट नरहरि घिमिरे नआइसकेकाले उनी हाल त्यही कार्यरत छन्।
यसैबीच उनले यसलाई कार्यान्वयनमा लगेका हुन्।
त्यस्तै नेपाली पोर्टमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी गरिने श्रम स्वीकृति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने नो अब्जेक्सन लेटर (एनओसी) को विवरण पनि प्राप्त गर्न सकिने गरी जोडिएको छ।
यसले नक्कली श्रम स्वीकृति र नक्कली एनओसी बनाउने कार्य रोकिने प्रमुख अध्यागमन अधिकृत कोइरालाले बताए।
अध्यागमनको सुधारका लागि अन्य निकायको पनि सहयोग आवश्यक रहने उनले बताए।
ट्राभल एजेन्ट्स, टुर अपरेटर, होटल व्यवसायमा संलग्न, वैदेशिक रोजगारमा समबद्ध व्यवसायीहरूले व्यावसायिक मूल्य, मान्यताको अपेक्षा राखिएको अध्यागमनको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।
अध्यागमनबाट हटाइए आठ जना कर्मचारी
लामो समयदेखि अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत कर्मचारीहरू हटाइएका छन्।
स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत कोइरालाले बुधबार आठ जना कर्मचारीलाई हटाएका हुन्।
ती कर्मचारीहरू कोही सवारी चालक, कोही कार्यालय सहयोगी थिए। जो १५ वर्ष, ५ वर्ष, ३ वर्षसम्म कार्यरत थिए।
अध्यागमनमा हुने चलखेलमा उनीहरूको भूमिका समेत शंकास्पद रहेको भन्दै हटाइएको स्रोतले बतायो।
‘उनीहरूको भूमिका शंकास्पद भएपछि प्रमुखले हटाउनुभएको हो,’ स्रोतले भन्यो।
४५ जना अध्यागमन अधिकृत पनि फेरिने
गृह मन्त्रालयले अध्यागमन कार्यालयमा ठूलो संख्यामा सरूवा गर्न लागेको छ।
हालै लोकसेवाबाट उतीर्ण भएर आएका कर्मचारीहरूलाई हाल अध्यागमन विभागले तालिम दिइरहेको छ। विभागले ४५ जनालाई तीन दिन यता तालिम दिइरहेको हो।
उनीहरूको तालिम सकिएपछि अध्यागमन कार्यालयमा खटाउने गृह स्रोतले बतायो।
