झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा इलाममा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार बुधबार राति साढे १० बजेतिर सूर्योदय नगरपालिका–१ भालुखोपमा दुई युवाबीच झगडा भएको थियो।
स्थानीय काजी तामाङको घरमा माइजोगमाई –२ तारसिंह गाउँका २१ वर्षे प्रकाश चापागाईंको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
सूर्योदय नगरपालिका –१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा भएपछि शेर्पाले चापागाईंमाथि धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीका अनुसार प्रकाश दाजु निरोज चापागाइँको ससुराली गएका थिए।
‘चापागाईंको घटनास्थलमै मृत्यु भएको देखिन्छ’, एसपी कोइरालाले भने ‘मृतकका दाजु ३२ वर्षे निरोज र अभियुक्त शेर्पा पनि घाइते छन्।’
निरोजको पेटमा गहिरो चोट लागेको छ।
‘उनीहरु आपसमा झगडा गरेको देखिन्छ,’ एसपी कोइरालाले भने ‘मृतकका दाजु घाइते छन्, संदिग्ध आक्रमणकारी पनि घाइते भएकाले थप अनुसन्धान भइरहेको छ। अरु सबै कुरा खुलिसकेको छैन।’