गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा फसेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुल नै बगाएपछि केरूङमै अड्किएका नेपालीहरूलाई वैकल्पिक बाटोबाट नेपाल फर्काउन पहल थालिएको जानकारी दिए।
ल्हेन्देमा बाढी आएपछि मालबाहक सवारी साधनका चालक र सहचालक गरी ९१ जनालाई चिनियाँ पक्षले खान र बस्ने व्यवस्था गरिरहेको छ।
'उहाँहरूलाई त्यहाँ कुनै किसिमको पनि समस्या छैन। नेपाल फर्काउने पहल पनि सुरू भइसकेको छ,' प्रजिअ पौडेलले भने।
त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिए।
केरूङमा झन्डै १ हजार २ सय जना नेपालीहरू रहेको प्रजिअ पौडेलले जानकारी दिए।
बाढीमा फसेका ९१ जनाबाहेक कामको सिलसिलामा गएका ११७ जनाले घर फर्कने व्यवस्था गरिदिन आग्रह गरेकाले उनीहरूलाई पनि फर्काउने पहल भएको प्रजिअ पौडेलले जानकारी दिए।
'केही मानिसहरू सीमित खर्च लिएर चार/पाँच दिनका लागि मात्रै पनि जानुभएको थियो। उहाँहरूले फर्कने प्रबन्ध गरिदिन भन्नुभएको छ। बाढी आएपछि उतै रोकिनुभएका ९१ जना गरी झन्डै २०० जनालाई फर्काउने तयारी छ,' उनले भने।
उनीहरूलाई तातोपानी नाका हुँदै फर्काइने पनि प्रजिअ पौडेलले जानकारी दिए। त्यसका लागि चिनियाँ पक्षले प्रक्रिया थालिसकेको भनेर जानकारी आएको प्रजिअ पौडेलले बताए।