रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ टाटागाउँमा बाबुले आमाको हत्या गरेपछि बिचल्ली परेका बालबालिकाहरूको पालनपोषणका लागि तत्काल ७ लाख रूपैयाँ उपलब्ध गराउन अदालतले आदेश गरेको छ।
जिल्ला अदालत रूकुम पश्चिमका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले चन्द्रबहादुर बुढा र देविका बुढाका तीन सन्तानहरूको रेखदेख र पालनपोषणका लागि तत्काल ७ लाख रूपैयाँ उपलब्ध गराउन आदेश दिएको हो।
नाबालकहरूप्रति राज्यको अभिभावकीय भूमिका हुने हुँदा सिधै नेपाल सरकारमा ब्ययभार हुने गरी पीडित राहत कोषबाट सात लाख रुपैयाँ अपराध पीडित संरक्षण ऐन २०७५, को दफा २९ बमोजिम अन्तरिम क्षतिपूर्ति स्वरूप राहत रकम आश्रित नाबालकहरूलाई भराइदिनू भन्ने आदेश गरेको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन्।
असार १७ गते चन्द्रबहादुरले देविकाको वीभत्स हत्या गरेका थिए।
घटनापछि देविकाका माइतीतर्फका भाइ गोविन्द खत्रीले किटानी जाहेरी दिएका थिए। उनैले तीन नाबालकको हेरचाहका लागि क्षतिपूर्ति माग गर्दै अदालतमा रिट दिएका थिए।
बहसपछि अदालतले उक्त रकम तत्काल उपलब्ध गराउन आदेश पनि दिएको छ।
साथै घटनापछि विभिन्न युट्युब र सामाजिक सञ्जालमा नाबालकहरूसँग अन्तर्वार्ता लिएर सार्वजनिक गरिएको भिडिओ तत्काल हटाउन पनि आदेश दिएको छ।
त्यस्ता प्रश्न र भिडिओहरूले बालबालिकामाथि थप पीडा हुने भएकाले यस प्रकारका भिडिओ सामाजिक सञ्जालमा रहिरहे भविष्यमा पनि उनीहरूको मनोविज्ञानमा गम्भीर असर पर्न जाने भएकाले त्यस्ता भिडिओ हटाउन आदेश दिएको हो।
त्यसका लागि समन्वय गर्न गृह मन्त्रालय र प्रेस काउन्सिल नेपाललाई आदेशको प्रतिलिपी पठाउन भनिएको छ।
देविकाको हत्या भएपछि उनका सन्तानलाई सहयोगका लागि भनेर विभिन्न व्यक्ति र संघसंस्थाले रकम संकलन गरेको विषयमा पनि अदालतले चासो दिएको छ।
अदालतले त्यसरी संकलन भएको रकमको सदुपयोग सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय गर्नू भनेर जिल्ला प्रशासन कार्यालयलाई आदेश गरेको छ।
३२ वर्षीय चन्द्रबहादुरले असार १७ गते राति ३० वर्षीया श्रीमती देविकामाथि खुकुरी प्रहार गरी वीभत्स हत्या गरेका थिए।
उनले लखेटी लखेटी देविकाको हत्या गरेका थिए। चन्द्रबहादुरले खुकुरी निकालेपछि देविका घरबाट भागेकी थिइन्। झन्डै एक सय मिटर भागेपछि खेतको डिलमा लडेकी देविकालाई त्यहीँ उनका श्रीमानले खुकुरी प्रहार गरेका थिए।
पहिले दुवै हात छिनाएपछि चन्द्रबहादुरले देविकाको घाँटीमा खुकुरी प्रहार गरेका थिए। हत्यापछि उनी आफै प्रहरी कार्यालय गएका थिए।