लागु औषध एम्फेटामाइन (आइस) सहित चार जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटका ३८ वर्षीय कमलबहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बाराका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन छन्।
उनीहरूलाई ब्युरोको टोलीले सोमबार काठमाडौं-२७ को एक होटलबाट १५५ ग्राम एम्फेटामाइनसहित पक्राउ गरेको हो।
एसएसपी कृष्ण कोइरालाका अनुसार यो लागुऔषधलाई अवैध कारोबारीहरूले तुलनात्मक रूपमा ब्राउन सुगर भन्दा महंगो मूल्यमा बेच्ने गर्छन्।
उनीहरूले काठमाडौं उपत्यकामा केहीसमयदेखि एम्फेटामाइन बिक्री गर्दै आएको आशंका प्रहरीको छ।
पक्राउ परेका व्यक्तिहरूले लागुऔषध भारतबाट ल्याएको बताएका छन्।
‘भारत जाँदा त्यहीँको नागरिकले दिएर पठाएको भनेका छन्। पहिलो पटक हो भनेर दाबी गरेको छ। भारतीय नागरिकले अरू बेला पनि पठाउने गर्थे भन्ने खुलेको छ,’ एसएसपी कोइरालाले भने, ‘यसबारे हामी थप अनुसन्धान गर्दैछौं।’