मुग्लिन-नारायणघाट सडक खण्डस्थित सिमलतालमा भारतीय ट्रक दुर्घटना भएको छ।
भारतबाट काठमाडौं आउँदै गरेको यूपी ३२ जेडएन ७८८३ नम्बरको मिनी ट्रक चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडकबाट त्रिशूली नदी किनारमा खसेको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार उक्त दुर्घटना गएराति १०:२५ बजे भएको थियो।
मेवा लोड भएको उक्त ट्रक सिमलतालमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०/८० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक सोही स्थानका २० वर्षीय उत्तर सिंह दुवै सामान्य घाइते रहेको एसपी सुवेदीले जानकारी दिए।
उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।
ट्रक त्रिशूली नदी किनारमै रहेको र दुर्घटनाका कारण सडक अवरूद्ध नरहेको एसपी सुवेदीले जानकारी दिए।