दाङ जिल्ला अदालतले अनाहकमा एक जना छिमेकी महिलाको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको फैसला सुनाएको छ।
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ४२ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावास र पाँच लाख जरिवानाको फैसला भएको हो।
झन्डै दुई वर्ष पहिले हत्यामा कसुरदार ठहर गर्दै सोमबार जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले सेतोपाटीलाई बताए।
बेलटाकुरा गाउँकी ४३ वर्षीया रिता लामिछाने दिउँसो घरमै आँगनमा बसेर बत्ती काटिरहेको समयमा खुकुरी लिएर गएका छिमेकी टेकबहादुरले एकाएक घाँटी लगायत विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
अनाहकमा श्रीमती रिताको हत्यापछि उनका श्रीमान देवराज लामिछानेले कतर्व्य ज्यान सम्बन्धी मुद्दा दायर गरेका थिए। देवराजको जाहेरीमा सुनुवाइ गर्दै टेकबहादुरले अदालतले जीवन रहँदासम्म कारावास र पाँच लाख जरिवानाको फैसला सुनाएको हो।
यो घटना २०८० असोज ६ गतेको थियो।
सोही दिन हमालले नाता पर्ने घाँस काट्दै गरेकी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाललाई पनि खुकुरी प्रहार गरेका थिए। चन्द्रकुमारीको लामो समय उपचार चलेको थियो। वीरबहादुर हमाल भने खुकुरी प्रहार गर्दा हातले छल्दा हातमा चोट खेपेपछि भागेर ज्यान जोगाउन सफल भएका थिए।
त्यो खुकुरी प्रहारको घटनामा चन्द्रकुमारीका छोरा ज्ञानबहादुर हमाल र वीरबहादुर हमालले टेकबहादुरविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। ज्ञान बहादुरको मुद्दामा १ लाख ९ हजार ९ सय २७ रुपैयाँ उपचार खर्च भराउन फैसला सुनाउँदै मानसिव क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए।
घटनालगत्तै हमाललाई प्रहरीले घरभित्रै लुकेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले हमालविरूद्ध कात्तिक १२ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो भने कात्तिक १३ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए।
घटना प्रत्यक्षदर्शीका अनुसार आफूलाई देउता चढेको भन्दै घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो, उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। घर परिवार र स्थानीयका अनुसार उनी डिप्रेसनका बिरामी थिए। रोजगारीका लागि इण्डिया पुगेर केही समय पहिले फर्केका उनले औषधि सेवन गर्दै आएका थिए।
घटना हुँदा उनकी श्रीमती र बच्चाहरू भने तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए।
यो पनि:
खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते