दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ।
जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरू सवार रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही – ३ स्थित सिस्ने खोलामा खसेको थियो।
घोराही–रामपुर सडक खण्ड अन्तर्गत सिस्ने खोलामा मोटरसाइकल सहित खसेका गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो।
चिकित्सकले जाँच गरी दुवै जनाको मृत्यु भइसकेको घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई सडकबाट सिस्ने खोलामा खसेको प्रहरीले बताएको छ।