बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता दुबै जना विद्यार्थीको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका– ६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
बबई गाउँपालिका–५ स्थित चर्चित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरू छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर दिउँसो साढे २ बजेतिर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा बेलुकी ५ बजेतिर फेला परेको बताए।
मृतकका आफन्तलाई बोलाइएको र आफन्त पुगेपछि मुचुल्का बनाएर शव तुलसीपुरतर्फ पठाइने उनले जानकारी दिए।
उनीहरू साथीहरूसँगै छहरा हेर्न तथा घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले बताएको छ।
मृतक दुवै जना तुलसीपुरमा अध्ययनरत थिए।
६ जना साथीहरू झरना अवलोकनका लागि पुगेको प्रहरीले बताएको छ।
त्यस क्रममा विधान नुहाउन भनेर नदीका पसेपछि तीव्र बहाबले उनलाई बगाएको थियो। त्यसपछि साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए। तर, त्यसपछि कुशल पनि बेपत्ता भएका थिए।