दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै सहयोग उठाउँदै हिँडेका एक जनालाई पक्राउ गरेको छ।
उनी हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारी हुन्।
उनले ललितपुरका ३७ वर्षीय युवराज भोलानका नाममा रकम उठाइरहेका थिए। भोलानको नाममा उनीहरूले ‘युवराज भोलान बचाऊ अभियान समिति’ नै बनाएर रकम उठाउँदै गरेको खुलेको हो।
दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार अधिकारी पक्राउ परेपछि समिति नै बनाएर रकम उठाउँदै गरेको खुलेको हो।
यसमा अधिकारीसँगै अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको एसपी तिमिल्सिनाले बताए। उनका अनुसार यसमा संलग्न प्रमुख व्यक्ति इटहरीका सुवास विक हुन्। उनी पेसाले युट्युबर हुन्। उनी डेढ महिना पहिले सिभिल अस्पताल काठमाडौं पुगेका थिए। जहाँ उनले भोलानलाई भेटे।
त्यहाँ पुगेर विकले भोलानलाई आर्थिक सहयोग जुटाउने र उपचार सम्भव गराउने आश्वासन बाँडे।
उनै विकले जिल्ला प्रशासन वा अन्य कुनै आधिकारिक निकायबाट अनुमति नलिकन भोलानको नाममा रसिद छपाइ सुरू गरे, आफैले रकम संकलनको काम पनि थाले।
-1752494710.jpeg)
‘एक कदम मानवताको लागि’ भन्ने ‘युवराज भोलन बचाऊ अभियान समिति’ नै गठन गरी मासिक तलब दिने सर्तमा सहयोग उठाउनका लागि कर्मचारी नै नियुक्त गरेको पनि प्रहरीले जनाएको छ।
एसपी तिमिल्सिनाका अनुसार दाङ र बाँकेमा गरी प्रतिव्यक्ति मासिक १८ हजार तलब दिने गरी १२ जना कर्मचारी नै नियुक्त गरेको खुलेको छ।
यो कुरा ईश्वर अधिकारी पक्राउ परेपछि खुलेको हो।
प्रहरी हिरासतमा रहेका अधिकारीले आफूले बाँकेमा ४० हजार रुपैयाँ भोलानका नाममा संकलन गरेको प्रहरी समक्ष बताएका छन्।
तर त्यो रकम पीडित भोलानले पाएका छैनन्। उनीहरू आफूखुसी रकम संकलन गर्ने र आफूखुसी बाँडफाँट गर्ने गरेको एसपी तिमिल्सिनाले बताए।
बोनम्यारोमा क्यान्सर पीडित युवराज भोलानले पनि आफूले हालसम्म जम्मा दुई हजार एक सय रुपैयाँ मात्रै प्राप्त गरेको सेतोपाटीलाई बताए।
‘मलाई कोही पनि यहाँ आएर तिम्रो नाममा संकलित रकम यति हो, लौ भनेर दिएका छैनन्,’ उनले भने, ‘कसैले पाँच सय कसैले सात सय गरी हालसम्म २१ सय रकम क्यूआरमार्फत विभिन्न मितिमा मेरो खातमा आएको साँचो हो।’
व्यक्ति विषेश परिस्थितिमा सहयोग संकलनका लागि जिल्ला प्रशासनले लिखित अनुमति प्रदान गर्छ। तर पीडितको नाममा रकम संकलन गर्ने र मनपरी बाँडफाँट गर्ने गलत अभ्यास पाइएको एसपी तिमिल्सिनाले बताए।
‘क्यान्सर पीडित युवराज भोलानका नाममा समिति नै गठन गरी निश्चित व्यक्तिहरूलाई मासिक महिनावारी तलबमा नियुक्त गरी मनपरी रकम संकलन गर्ने आफूखुसी बाँडफाँट गरी ठगी गरेको खुल्न आएको छ,’ एसपी तिमिल्सिनाले भने, ‘हामीले सोमबार बिहान ११ बजेसम्म संकलित रकम क्यान्सर पीडित भोलानको नाममा जम्मा गरिदिन वा आफन्तलाई दिन भनेका थियौं, तर सोमबार बेलुकासम्म पनि पीडित समक्ष उहाँको लागि भनेर संकलित रकम नपुगेको पाइएको छ।’
अधिकारीविरूद्ध जाहेरी दिन प्रहरीले पीडितलाई आग्रह गरेको थियो। पीडित आफै बेडबाट उठ्न नसक्ने अवस्था रहेको बुझेपछि एसपी तिमिल्सिनाले जोहरी लिनका लागि बानेश्वरको प्रहरीलाई आग्रह गरेका थिए।
तर सोमबार बेलुकीसम्म कतैबाट पनि जाहेरी नपरेका कारण दाङ प्रहरीले अभद्र व्यवहार शीर्षकमा कारबाही गर्ने गरी ईश्वर अधिकारीलाई हिरासतमा राखेको छ।
‘एक कदम मानवताको लागि’ भनेर ‘युवराज भोलन बचाऊ अभियान समिति’ नै गठन गरी मासिक तलब दिने सर्तमा मासिक तलब १८ हजार दिने गरी १२ जना कर्मचारी नै नियुक्त गरेको देखिएको छ।
सुवास विकसँग सेतोपाटीले कुराकानी गर्न खोजेको थियो। पटक-पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएनन्।