रसुवामा गएको बाढीले मितेरी पुल भत्किएपछि ९१ जना नेपाली नागरिक चीनतर्फ फसेका छन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार चीनतर्फ ९१ जना नेपाली नागरिक छन्।
उनीहरूलाई चिनियाँ पक्षले नै केरूङमा खान, बस्ने, औषधि उपचार र अन्य आवश्यक प्रबन्ध मिलाएको अधिकारीले बताए।
चिनियाँ समकक्षीले नेपालीको खाने/बस्ने व्यवस्थापन गरेकोबारे जानकारी प्रशासनलाई दिएको हो।
चिनियाँ समकक्षी र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि प्रशासन कार्यालयले जानकारी दिएको छ।
असार २४ गते बिहान ३ बजेतिर आएको बाढीले रसुवागढीको नाकामा रहेको मितेरी पुल भत्किएको हो। उक्त पुल भत्किएपछि नेपालीहरू घर फर्किन नपाएका हुन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले बाढीमा परी बेपत्ता बनाएका व्यक्तिहरूको खोजी गरिरहेको छ।
भोटेकोशी र त्रिशूली नदी किनारामा खोजीको काम भइरहेको छ।
सुरक्षा निकायले दैनिक स्थानीयको विपद जोखिम रहेको स्थानबाट उद्धार गरिरहेको छ। बिहीबारमात्रै १४३ जनाको उद्धार गरेको हो।
उनीहरूलाई अस्थायी पदमार्ग निर्माण गरी सुरक्षित स्थान पठाइएको थियो।
त्यस्तै बाढीले विद्युत तथा सञ्चार सेवामा समेत क्षति पुगेको थियो। बिहीबारदेखि उक्त सेवा पनि सञ्चालनमा आइसकेको प्रशासनले जानकारी दिएको छ।
प्रशासनका अनुसार गोसाइँकुण्ड-२ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको काली मन्दिर पनि पूर्ण रूपमा क्षति पुगेको छ।
भन्सार यार्डमा पनि बाढीले क्षति पुर्याउँदा २० जनालाई बेपत्ता बनाएको थियो। जसमध्ये कतिपयको शव र शवका अंग फेला परेका छन्। यद्यपि एक जनाको मात्रै सनाखत भएको छ।