रसुवामा मंगलबार बिहानको बाढीले जनधनको ठूलो क्षति गरेको छ।
चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीन सडक सम्पर्क टुटेको छ।
बाढीले रसुवागढीको टिमुरे भन्सार क्षेत्र क्षतविक्षत बनाएको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ।
२० जनालाई बाढीले मितेरी पुलबाट करिब डेढ किलोमिटर तल रहेको भन्सार यार्डबाट बगाएको थियो। जसमध्ये एक जनाको मात्रै सनाखत भएको छ। अन्यको सनाखत तथा खोजी तथा उद्धारको काम भइरहेको छ।
भेटिएका शव र शवका अंश रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म फेला परेको छ।
बाढीले प्रहरी तीन जना, चिनियाँ नागरिक ६ जना र बाँकी नेपाली नागरिकलाई बगाएको थियो। प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनस्थित त्रिशूली नदीमा फेला परेको थियो। अन्य दुई जना जवान पनि बेपत्ता भएका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३८३ जनाको टोलीले ५७ जनाको उद्धार गरेको छ। त्यसमध्ये ३१ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
भन्सार यार्डबाट २४ कन्टेनर, जाँच पासका लागि राखिएका ३५ वटा गाडी र ६ वटा ट्रकलाई बगाएको थियो।
बाढीले १६ किलोमिटर, ३ वटा हाइड्रोमा समेत क्षति पुर्याएको छ। क्षतिको यकिन विवरण भने सम्बन्धित मन्त्रालयले निकाल्ने पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
तस्बिरहरूः











तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी