‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण आमसञ्चारकर्मीहरूले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार काठमाडौँमा बसेको केन्द्रीय समितिको पुनर्ताजगी बैठकले प्रविधिले फेरिँदै गएका आमसञ्चार माध्यम, आम सञ्चार र सामाजिक सञ्जालका समानता र भिन्नता, दर्शक, पाठक तथा स्रोताहरूको रूचि लगायत विषयको विश्लेषण गर्दै सम्भावित दृष्टिकोण र परिस्थितिजन्य द्वन्द्वबाट पेशागत धर्मबाट आमसञ्चारकर्मीलाई विचलित हुनबाट बचाउन क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए।
'आर्थिक, सामाजिक र राजनीतिक कारण व्यक्ति र समाजमा बढ्दो द्वन्द्वबाट पत्रकारहरू जोखिममा छन्। यो जोखिमबाट पत्रकारलाई बचाउन सके मात्र पत्रकारिता बचाउन सकिन्छ,' विद्रोहीले भने, 'पृथक परिस्थितिलाई सन्तुलित रूपमा जनचासोका रूपमा ल्याउन सरोकारवाला र साझेदारसँगको सहकार्यमा काम गर्नेछौँ।'
मञ्चले २ लाख रुपैयाँबाट स्वास्थ्य कोष स्थापना गर्ने र सदस्यहरूको स्वास्थ्योपचारमा मद्दत गर्ने मञ्चले निर्णय गरेको छ।
यो कोषलाई विस्तार गर्दै लगिनेछ।
मञ्चले सञ्चालन गरेका कामहरू सिर्जनशील र नियमितभन्दा पृथक हुन्छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवरले, कन्फ्लिक्ट अफ इन्ट्रेस र यसको सामना गर्ने विधि पत्रकारहरूका लागि अनिवार्य आवश्यकता भएको आफूलाई पनि महसुस भएको बताइन्।
त्यस क्रममा मञ्चका महासचिव राजु भण्डारीले पेशागत संघसंगठनहरूले नतिजाका लागि भन्दा पनि समाजका अगाडि आफूले काम गरिरहेको देखाउन प्रयत्न गरेको वर्तमान सन्दर्भमा मञ्चले मापन योग्य नतिजाका लागि काम गर्ने योजना सुनाए।
मञ्चले आफ्ना सदस्य, एसोसिएट संघसंस्थाका सदस्यलाई प्राथमिकतामा राखेर क्षमता विकाको पहुँच बढाउँदै जाने योजना बनाएको छ।