रसुवाको बाढीमा थप दुई जना बेपत्ता भएको खुलेको छ।
गोसाइकुण्ड नगरपालिका-२ रसुवागढीमा बाढी आउँदा थप दुई जना बेपत्ता भएको खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता हुनेमा गोरखा पालुङटार नगरपालिका-६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ छन्।
उनीहरू कहाँ कार्यरत रहेको भन्ने खुलिसकेको छैन। योसँगै बेपत्ता हुनेको संख्या २० पुगेको छ।
उनीहरू दुई जना पनि भन्सार यार्डमै काम गर्नेहरू रहेको डिएसपी थापाले बताए।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि दुई जना सम्पर्कबिहीन भएको बताए।
उनीहरू यार्डमा कार्यरत डिब्बा गाडीका चालकहरू हुन्।
‘हामीलाई सुरक्षा संयन्त्रबाट उनीहरू हराएको भनेर खबर आएको छ। अहिले उद्धारकै काममा केन्द्रित छौं। कोही फेला परेको भन्ने यकिन छैन,’ उनले भने।
मंगलबार बिहान ३ बजेतिर भोटेकोशीमा आएको बाढीले रसुवागढीमा रहेको भन्सार यार्डमा क्षति पुर्याएको छ।
बाढीपछि ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण सम्पर्कविहीन छन् भने ५५ जनाको उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ।
यो पनि: रसुवाको भोटेकोशीमा बेपत्ता भएका १८ जना को हुन्, उनीहरू कसरी बेपत्ता भए?