रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ।
नेपाली सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कामदारहरू गोसाइकुण्ड गाउँपालिका-२ स्थित उक्त आयोजनामा फसेका थिए।
नेपाली सेनाले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसँगको सहकार्यमा उद्धार गरेको हो।
नेपाली सेनाको धादिङस्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेँसी इलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी सुरू गरेको छ।
अहिले १८ जना बेपत्ता छन्। तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक र बाँकी नेपाली नागरिक बेपत्ता छन्।
उनीहरूको खोजी भइरहेको छ।
मंगलबार बिहान चीनको लेन्डो खोलाबाट आएको बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल भत्किएको हो। पुल भत्किएपछि चीनसँगको सम्पर्क टुटेको छ।
भन्सार ड्राइपोर्ट र जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ।