अस्ट्रेलियामा सासु-ससुरासहित तीन जनाको हत्या अभियोगमा एक महिला दोषी ठहर भएकी छन्।
भिक्टोरिया राज्यको लियोंगाथास्थित ग्रामीण सहर मर्वेलकी ५० वर्षीया एरिन पेटरसन तीन जनाको हत्या र एक जनाको हत्या प्रयास अभियोगमा दोषी ठहर भएकी हुन्।
भिक्टोरियाको अदालतले सोमबार उनलाई दोषी ठहर गरेको बिबिसीले जनाएको छ। सजाय निर्धारण अर्को सुनुवाइमा गरिने बताइएको छ।
बिबिसीका अनुसार तीन जनाको हत्या भएको उक्त घटनालाई अस्ट्रेलियाभरि चासोका साथ हेरिएको थियो। झन्डै ११ महिनासम्म अदालतमा मुद्दा चलेपछि सोमबार त्यसको फैसला भएको हो।
हत्या भएका तीन जना एरिनका सासु-ससुरा र आफन्त हुन्।
घटना २०२३ जुलाई २९ को हो।
एरिनले आफ्ना श्रीमान, सासु ससुरासहित चार जनालाई खाना खान बोलाएकी थिइन्।
७० वर्षका ससुरा डन पेटरसन, लगभग उही उमेरका सासु गेल पेटरसन, गेलकी बहिनी ६६ वर्षीय हिथर विलकिन्सन र उनका श्रीमान लेन विलिकन्सन लन्चमा सहभागी थिए।
उनका श्रीमान साइमन भने उपस्थित थिएनन्।
एरिन २०१५ मै श्रीमानसँग छुट्टिएकी थिइन्। उनीहरूबीच डिभोर्स भने भएको थिएन। त्यसकारण आफूलाई असहज हुने बताएर साइमनले लञ्चमा सहभागी हुन अस्वीकार गरिदिएका थिए।
अघिल्लो दिन काम विशेषले बाहिर जानु परेकाले पनि लञ्चमा सहभागी हुन नपाएको साइमनले अदालतमा दिएको बयानमा भनेका छन्।
साइमनका बुवा-आमा पनि लञ्चमा जान चाहेका थिएनन्। तर एरिनले आफूलाई क्यान्सर भएको बताएर 'ब्ल्याकमेल' गरेपछि उनीहरू एरिनको घर पुगेका थिए।
लञ्चका लागि एरिनले बिफ वेलिङ्टन तयार पारेकी थिइन्। बिफ वेलिङ्टन गहुँको पिठोबाट बनेको पफ पेस्ट्रीमा गाइको मासु बेरेर बनाइने ब्रिटिश परिकार हो। यसको भित्री भागमा च्याउ र लसुन पनि राखिन्छ।
लञ्च सकेर घर फर्किएपछि चारै जना गम्भीर बिरामी परेका थिए।
घर पुग्नेबित्तिकै चारै जनालाई वाकवाकी लाग्ने, वान्ता हुने, पखाला चल्ने समस्या देखिएको थियो।
त्यसको भोलिपल्टै उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले शरीरमा फैलिएको विषले धेरै अंगहरू 'फेलियर' भइसकेको रिपोर्ट दिएको थियो।
उनीहरूलाई विशेष निगरानी कक्षमा राखेर उपचार गरिएकोमा केही दिनमै तीन जनाको मृत्यु भएको थियो।
मृत्यु हुने तीन जना एरिनका सासु-ससुरा र सासुकी बहिनी हिथर थिइन्। हिथरका श्रीमान लामो समय कोमामा रहे। २२ सेप्टेम्बरमा मात्रै उनी अस्पतालबाट डिस्चार्ज भएको बिबिसीको समाचारमा उल्लेख छ।
अनुसन्धानका क्रममा विषालु च्याउ सेवनले उनीहरूको मृत्यु भएको खुलेको थियो।
प्रहरीले विषालु जंगली च्याउ र त्यसलाई सुकाउन प्रयोग गरिएको भाडो एरिनले फोहोर फाल्ने ठाउँबाट बरामद गरेको थियो।
त्यसपछि तीन जनाको हत्या र एक जनाको हत्या प्रयासको अभियोगमा २ नोभेम्बरमा प्रहरीले उनीमाथि मुद्दा दायर गरेको थियो।
एरिनले लगातार हत्या गर्ने नियत नरहेको र जानाजान विषालु च्याउ नखुवाएको बताउँदै आएकी थिइन्। उनले आफूले पनि सोही खाना खाएको दाबी गरेकी थिइन्।
तर क्यान्सर देखिएको भनेर झुक्याएको र घरकै फोहोर फाल्ने ठाउँमा भेटिएको प्रमाण एरिनले भनेको कुरा गलत साबित गर्ने आधार रहेको सरकारी वकिलले सुनुवाइमा भनेक थिए।
हत्याको कारण भने प्रष्ट नभएको बताइएको छ।
श्रीमान छुट्टिएकै कारण एरिनले श्रीमानसहित उनका आमाबाबुको पनि हत्या गर्ने योजना बनाएको हुनसक्ने भनिएको छ। साइमन नआएकाले उनी बाँच्न सफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एरिन र साइमनले सन् २००७ मा बिबाह गरेका थिए। सन् २००० मा उनीहरूको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरूले प्रेम बिबाह गरेका थिए। दुइटा सन्तान भएपछि उनीहरू २०१५ मा छुट्टिएका थिए।
एरिन सक्षम महिला थिइन्। उनले अकाउन्टेन्ट र एयर ट्राफिक कन्ट्रोलर भएर पनि काम गरेका थिए। उनी पशु अधिकारकर्मी पनि थिइन्।
उनी आर्थिक रूपमा पनि सम्पन्न थिइन्। लिओङ्गाथामा उनको धेरै जमिन र घर छ, जुन हजुरआमाले उनको नाम गरिदिएकी थिइन्। साथीसंगातीहरूलाई पनि आफूले १० लाख अस्ट्रेलियन डलर ऋण दिएको उनले अदालतमा बताएकी छन्।
उनी एकदमै रमाइलो, चलाख र बुद्धिमान थिइन् भनेर साइमनले अदालतमा बताएका थिए।
अदालतले दोषी ठहर गरे पनि हत्याको उद्धेश्य के थियो भनेर भन्न नसकेको बिबिसीले जनाएको छ। एरिनले माथिल्लो अदालतमा अपिल गर्न सक्नेछिन्।