नेपालको जनसंख्या गाउँबाट ओरालो र सहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ। मानिसको सहर मोहले गर्दा जनसंख्या सहरकेन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार मात्र सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा सहरी क्षेत्रमा जनसंख्या वृद्धि तीव्र भएको देखाएको छ।
२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसंख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा झरेको छ भने सहरी क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।
विकास उकालो लाग्यो र मानिस उकालो लागे भन्ने भनाइ अहिले काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ।
गाउँ नै रितिने गरी भएकोबसाइँसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ।
उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र घरका आँगनमा झार उम्रेन थालेका छन्।
गाउँमा एकाघर मानिस बस्ने भए पनि मौलिकता हराएको देखिन्छ।
२०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांस गाउँ नै छाडेर गएको स्थानीय बताउँछन्।
दुलाल गाउँका स्थानीय दीपेन्द्र दुलालले भने, 'पहिले यहाँ १२० घरधुरी रहेकोमा भूकम्पपछि सबै जसो घरहरू खाली भए। धेरैले खेत बेचेर खेत मै घर बनाए, कतिले गाउँमै ठूला सिमेन्टका घर बनाए, अहिले त ५-७ घरमा मात्र मानिस बस्ने गरेका छन्, नुवाकोट, कालिकोट सम्म का मानिस यहाँ भाँडामा बस्छन्।'
काठमाडौंमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको सो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ।
पहिले पहिले हिँडेर टोखासम्म गाईवस्तुका लागि पराल र दैनिक उपभोग्य सामग्री लिन गएको कुरा स्मरण गर्छन् साङला सल्लेगाउँका रामप्रसाद ढकाल।
अहिले मोटर बाटो र अरू सुविधा आइसकेको छ तर गाउँमा मानिस नरहेको ढकालले बताए।
काँठ क्षेत्रका धेरैले ४०-५० मुरी धान फल्ने खेत बेचेर घर बनाएको र आफूले पनि घर बनाउन ७ आना जग्गा बेचेको कुरा उनले सुनाए।
'यो तल जति पनि घर बनेका छन्, प्लटिङ छन् ससबै खेत थियो। अहिले घर बन्यो,' साङला सापकोटा गाउँका रुद्र सापकोटाले बताए।


-ink-1751694548.jpeg)













तस्बिर : नेपाल फोटो लाइब्रेरी।