पायल्स भनेको मलद्वारसँग जोडिएका नसाहरू सुन्निएको अवस्था हो।
पायल्स दुई किसिमको हुन्छ।
मलद्वारको भित्री भागमा भयो भने त्यसलाई भित्री पायल्स (हेमोराइट्स) भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यसलाई बाहिरी पायल्स भनिन्छ जुन छालाले ढाकिएको हुन्छ।
पायल्स हुने मुख्य कारण भनेको खानपिन नै हो। उच्च प्रोटिन भएका खानाहरू खाने, लामो समय उभिने गर्दा शरीरको विभिन्न नसाहरू फुल्ने क्रममा पायल्स हुने गर्छ।
मुख्यता पायल्स खानपिनकै कारणले हुने गर्छ।
जंक फुड, उच्च प्रोटिन भएका खानाहरू, धेरै मसला भएका खानाको कारण पायल्स हुनसक्छ। त्यस्तै, फाइबर कम खाने, पानीको मात्रा कम हुँदा समेत पायल्सको खतरा रहन्छ। त्यसैले पायल्सबाट जोगिन सागसब्जी, सलाद, पानी धेरै खानुपर्छ।
पायल्सको उपचार गर्दा यो रोग कुन चरणमा छ भन्नेले निर्धारण गर्छ।
पहिलो र दोस्रो चरणको पायल्स छ भने खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधि खाने हो भने ठिक हुन्छ।
त्यस्तै दोस्रो चरणबाट बढ्दै गएर तेस्रो, चौथो चरणमा पुग्यो भने अपरेसन गर्नुपर्छ।
कहिलेकाहीँ रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अपरेसन गर्नुपर्छ। नसामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अनि अपरेसन नगरी हुन्न। त्यसैले पायल्स भएको थाहा पाएपछि चिकित्सकको सल्लाहमा उपचार गराउन ढिलो गर्नु हुँदैन।
पायल्सको उपचारमा नयाँ नयाँ प्रविधि आइसकेका छन्। लेजर थेरापीमार्फत् उपचार गराएमा बिरामीको अस्पताल बसाइ कम हुन्छ भने रोग पनि चाँडै निको हुन्छ। धेरैजसो अवस्थामा बिहान आएको बिरामी बेलुका घर फर्किन सक्छ। अस्पतालको बसाइ कम हुनासाथ एकातिर खर्च कम लाग्ने भयो भने अर्कोतिर बिरामीलाई पीडा कम हुन्छ। जसले गर्दा आफ्नो नियमित काममा चाँडो फर्किन सकिन्छ।
पायल्सको उपचार गर्दैगर्दा यसको पहिचान सबभन्दा महत्वपूर्ण हुन्छ। कतिपय अवस्थामा क्यान्सर भइसकेको हुन्छ तर बिरामीले पायल्स भनेर उपचार गरिरहँदा अर्को समस्या हुन्छ। हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने पायल्सका कारण क्यान्सर हुँदैन।
अर्को कुरा पायल्स भयो भनेर विभिन्न खालका जडिबुटी जथाभावी खाने चलन छ। आयुर्वेदिक औषधिको आफ्नै विशेषता छन्। यो मेरो क्षेत्र नभएकाले यसबारे भन्न सक्दिनँ। तर गाउँमा धामी झाक्रीले भनेको आधारमा कुनै मापदण्ड नभएका औषधि खाएर थप समस्या भइरहेको छ। कतिले त बोका काट्ने, भाले काट्ने समेत गरेका हुन्छन्। यस्तो गरियो भने बिरामीलाई थप पीडा हुने र पायल्सले दुःख दिने हुन्छ।
(वरिष्ठ जनरल पेट रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक तथा लेजर सर्जन डा.सूर्यज्योति श्रेष्ठ भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत छन्।)