अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पंजियारसहित ४ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्रसहित ४ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, ठूलीभेरी नगरपालिका-४ बस्ने दुर्गा प्राथमिक विद्यालय भवन निर्माण समितिका अध्यक्ष नन्दसिंह बुढा, सोही समितिका कोषाध्यक्ष संगीता बुढाविरूद्ध मुद्दा दर्ता गरेको हो।
उनीहरूले २०६७/२०६८ मा डोल्पाको साविक दुनै गाविस वडा-२ र ३ अर्थात हालको ठूलोभेरी नगरपालिका-४ स्थित काल्पनिक दुर्गा प्राथिमक विद्यालय खडागरी भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार चार जनाको मिलेमतोमा दुई कोठे भवन बनाएको भनी झूटा कागजात तयार पारी ७ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन गरेको देखिएको छ।
उनीहरू चारै जनाविरूद्ध ७ लाख ६० हजार रूपैयाँ बिगो माग दाबी गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको उनले बताए।