गैरकानुनी डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका-४ दमकल चोक र काठमाडौं महानगरपालिका-१३ चागलबाट ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई बुधबार पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।
उनका अनुसार उनीहरूले दमकल चोकमा एक घर भाडामा लिएर सोसल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको देखिएको छ।
'उक्त प्रालिको शाखाको रूपमा काठमाडौंको चागलमा पनि एक घर भाडामा लिई नेपाली युवतीलाई प्रलोभनमा पारेर डेटिङ एपमार्फत् क्रिप्टो कारोबार गरिरहेको भेटियो,' एसपी खड्काले भने।
उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख रूपैयाँ ब्युरोको टोलीले बरामद गरेको छ।
पक्राउ परेका ५२ जनामध्ये मुख्य ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन र यसबारे केही जानकारी भएमा ब्युरोमा जानकारी गराउनका लागि अनुरोध समेत गरेको छ।