मकवानपुरमा सडकमा रक्ताम्य अवस्थामा भेटिएका एक पुरूषको मृत्यु भएको छ।
मकवानपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट गस्तीमा खटिएको टोलीले शनिबार बिहान २:२५ बजे हेटौंडा उपमहानगरपालिका-१९ सान्नाटारस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा एक पुरूषलाई रक्ताम्य अवस्थामा फेला पारेको थियो।
उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भेटिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
त्यसपछि प्रहरीले तत्काल उद्धार गरेर हेटौंडा अस्पताल पुर्याएको थियो। बिहान ३:२० बजे चिकित्सकले मृत घोषणा गरेको थियो।
डिएसपी अर्यालका अनुसार मृतकको परिचय खुलेको छैन।
चोटको प्रकृति हेर्दा उनलाई सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।