३० वर्षीया रेणुका चौधरी दिनकै आमा-बुवालाई फोन गर्थिन्।
कञ्चनपुर पुनर्वासको अमरावतीकी उनी चार वर्षदेखि खानेपानी संस्थानको शाखा कार्यालय धनगढी कार्यालयमा सहयोगीको रूपमा कार्यरत थिइन्।
कञ्चनपुरबाट आउजाउ गर्न समय लाग्थ्यो। लामो समयसम्म घरबाटै कार्यालय गए पनि गत मंसिरमा भने सहजताका लागि उनी डेरा सरिन्। त्यही बसेर पढाइ पनि सकाउने उनको योजना थियो।
रेणुका बिदामा घर जाने गर्थिन्। असार ५ गते पनि घर गएर उनले ५० वर्षकी आमा दुलारीसँग गफगाफ गरिरहेकी थिइन्। गाउँमा मेला थियो।त्यसदिन खेतबारीमा काम सकेर मेलामा समेत घुमे।
त्यसराति उनी डेरा फर्किनन्। भोलिपल्ट शुक्रबार अफिस जान भनेर बिहानै अटो रिक्सामार्फत् कोठा गइन्।
कोठा फर्केपछि आमा दुलारी र बुवा बलिरामसँग रेणुकाको कुराकानी भएन।
दिनकै फोन गरिरहने रेणुकाले त्यसराति आमालाई फोन नगरेपछि आमाले आफै फोन गरिन्।
फोन उठेन। अघिपछि फोन नउठ्दा रेणुकाले फर्काउँथिन्। तर त्यस राति फोन फर्काइनन्।
शनिबार बिहानदेखि बलिरामले पटकपटक फोन लगाए, तर त्यसदिन पनि उठेन। यही क्रम आइतबार पनि चल्यो।
दुलारी र बलिराम आत्तिए। त्यसपछि कान्छा छोरा अमितलाई हेर्न पठाए। कोठा पुग्दा बाहिरबाट ताला लगाइएको थियो। ताला देखेर उनले छिमेकमा सोधिखोजी गरे। तर कुनै पत्तो लागेन। उनी निराश हुँदै घर फर्किए। बुवा-आमालाई कोठामा बाहिरबाट ताला लागेको र दिदीसँग भेट हुन नसकेको कुरा गरे।
रेणुका फेला नपरे पनि उनी बस्ने कोठा आसपास बस्नेहरूले केही गन्ध पाइरहेका थिए। केही सडिसकेको गन्ध चाल पाएका छिमेकीहरूले सोमबार प्रहरीलाई खबर गरेका थिए। कतिपयले तरकारी सडेको पो हो कि भन्ने अनुमान लगाएका थिए। केहीले रेणुका बस्ने कोठा आसपासबाटै गन्ध आएको थाहा पाएपछि असार ९ गते (सोमबार) बिहान प्रहरीलाई बोलाए। यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणाले पनि सूचना पाएका थिए। उनले सूचना पाएपछि कोठाको ताला फुटाउनुपर्ने निष्कर्ष प्रहरीले निकाल्यो।
प्रहरी, वडा सदस्य केशवराज पन्त र स्थानीय पुगेर कोठाको ताला फुटाए। भित्र हेर्दा बेडमा रेणुकाको शव थियो। घाँटीमा गहिरो चोट, कन्चटमा घाउ र भुइँमा सुकिसकेका रगतका टाटा थिए।
बलिराम घरमा काम गरिरहेका थिए। एकाएक प्रहरी आएको देखेपछि उनी आत्तिए। ती प्रहरीले बलरामलाई सुनाए, ‘रेणुका कोठाभित्र मृत भेटिइन्। धनगढी जानू।’
‘छोरी पढ्छु भनेर डेरामा बसेकी थिइन्। १२ कक्षा पास गर्न बाँकी थियो। यसपालि परीक्षा राम्रै छ भन्थिन्। परीक्षा पास भएको भए खानेपानीमा पदोन्नति हुन पनि सजिलो हुन्थ्यो। तर पापीहरूले छोरीको हत्या गरे,’ बुबा बलिरामले सेतोपाटीसँग भने।
प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइसकेको थियो। उनले त्यहाँ छोरीको शव हेर्न पनि सकेनन्। पोष्टमर्टमको लागि शव अस्पताल लगिएको थियो। त्यही राति प्रक्रिया सकेर रेणुकाको अन्तिम संस्कार भयो।
कार्यालयका प्रवक्ता एवं डिएसपी राजकुमार सिंहका अनुसार पोष्टमर्टमको रिपोर्ट अझै प्राप्त भएको छैन। तर घटनास्थलको प्रकृतिले रेणुकाको हत्या भएको भन्नेमा कुनै शंका भने छैन।
बुवा बलिरामका अनुसार दुई वर्ष पहिले एक जना भारतीय नागरिकले सामाजिक सञ्जालमा लेखेर दु:ख दिएका थिए। रेणुकाले त्यो कुरा बुवालाई भनेपछि उनीहरू प्रहरीकोमा पुगेर निवेदन दिएका थिए। अहिले त्यही व्यक्ति परिवार र प्रहरीको शंकाको घेरामा छन्।
प्रहरी अधिकारीहरूले पनि दुई महिनायता एक युवक कोठामा आउजाउ गरिरहेको थाहा पाएका छन्। तर यी दुबै घटनाका व्यक्ति एउटै हुन् वा होइनन् भन्नेबारे निष्कर्षमा प्रहरी पुगिसकेको छैन।
कोठामा आउजाउ गर्ने व्यक्ति नै हत्याका अभियुक्त हुनुपर्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
जिल्लाका एक उच्च प्रहरी अधिकारीले आरोपीको पहिचान खुलिसकेको बतायो। तर उनको परिचय गोप्य नै राखिएको छ। हत्या आरोपी भनिएका व्यक्ति धनगढीमा मेला चलिरहँदा आएको भए पनि अहिले एकाएक गायब छन्।
प्रहरी अहिले त्यही व्यक्तिको खोजीमा लागेको छ।
स्रोतका अनुसार नेपालका मात्रै हैन भारतीय प्रहरीको सहयोगमा प्रहरीको तीन टोली भारतमा पनि पुगेको छ।
बलरामले घटनामा संलग्नलाई चाँडो पहिचान गरी पक्राउ गर्न माग गरेका छन्।
‘हाम्री छोरीको वीभत्स हत्या गर्ने अपराधीलाई आजीवन जेल कोचेको हेर्न चाहना छ,’ उनले भने।
यो पनि: