धादिङको थाक्रे गाउँपालिका-७ आठकिलोमा टिपर दुर्घटना भएको छ।
गएराति साढे १२ बजे पृथ्वी लोकमार्ग सडकमा सातकिलोबाट गजुरीतर्फ जाँदै गरेको प्र ३-०१-०५ ख ९३६३ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ मार्खु बस्ने ४८ वर्षीय मानकाजी बल र सोही टिपरमा सवार १८ वर्षीय निशान ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए।
दुवै घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ।