सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार सामाजिक विकास मन्त्रालयले धनगढीमा आयोजना गरेको घोषणा सभा मार्फत ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरेका हुन।
सुदूरपश्चिम साक्षर प्रदेश घोषणा गर्ने चौथो प्रदेश हो। यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।
प्रदेशका ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा प्रदेशलाई साक्षर घोषणा गरिएको हो। प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भइसकेको तथ्यांकमा उल्लेख छ।
सुदूरपश्चिमका सबै ९ जिल्लाहरू यसअघि नै साक्षर जिल्ला घोषित भइसकेका थिए।
प्रदेशलाई साक्षर घोषणापछि सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिएका थिए।
सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको उनले दाबी गरे।