असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो। जस्ताले छाएको होचो र साँघुरो घरभित्र घामको रापले बसिनसक्नु हुन्छ।
गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिका परियार यही घरमा बस्छिन्। उनीमात्रै होइन एक महिने छोरालाई यही टहरोभित्र हुर्काइरहेकी छन्।
टहरा उनको आफ्नै पनि होइन। स्थानीय पार्वती परियारले दिएकी हुन्। पार्वती नातामा मनिकाको काकी हुन्। उनैले शीर लुकाउने ठाउँ दिएपछि घर र माइतीबाट एक्लिएकी मनिकाले राहत पाएकी छन्।
पेटमा गर्भ छँदै हो श्रीमानले उनलाई छाडेको। गत जेठ १० गते गोरखा अस्पतालमा उनले छोरा जन्माइन्। तर अहिलेसम्म पनि नाम राख्न पाएकी छैनन्।
'बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन। न्वारान गरेको भए पो नाम राख्नु,' उनले भनिन्।
धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग मनिकाले २०८० मंसिरमा बिबाह गरेकी थिइन्। अन्तरजातीय भएकाले त्यतिबेलै पनि मनिकाले बिबाह गर्न मानेकी थिइनन्।
'तपाईं नेवारको छोरो, म दमाइकी छोरी। तपाईंको घरपरिवारले मान्दैन, नबोलौं भन्थें म। ऊ जिद्दी, मलाई फकाएर, घुर्क्याएर, एकपटक त तीन तले घरको छतबाट हाम फाल्यो,' मनिकाले भनिन्, 'जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फसिहालें।'
मनिकाका अनुसार बिबाह धुमधामसँग भएको थियो। भोजभतेर पनि भएको थियो। मिलनले घरमा मनिका बाहुनकी छोरी हुन् भनेका रहेछन्।
'मैले ढाँट्न हुन्न भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो। मैले पनि उसले भनेजस्तै गरें,' मनिकाले भनिन्।
बिहेपछि उनीहरू चितवन फर्किएका थिए। उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङमा रहेको कोकाकोला फ्याक्ट्रीमा काम गर्थे।
मनिकाले त्यो फ्याक्ट्रीमा २०७५ देखि हो काम गर्न थालेको। त्यतिबेला उनी १४ वर्षकी थिइन्। गाउँकै चिनजानकी दिदीसँग पछि लागेर उनी चितवन आएकी थिइन्। उनैले त्यो फ्याक्ट्रीमा काम लगाइदिएकी थिइन्।
सँगैको साथीहरू पास भएर माथिल्लो कक्षा पुग्दा म आठ कक्षामा फेल भएँ। त्यसपछि लाज लागेर पढ्न गइनँ। घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो। त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ,' उनले विगत सम्झिइन्।
मिलनसँग उनको भेट पनि काम गर्न ठाउँमै भएको थियो। सँगै काम गर्दा चिनजानसँगै नजिक हुन थाले।
'पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो,' उनले भनिन्, ' उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो। फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ।'
उनीहरू चितवन फर्केपछि घरपरिवारले मनिकाको जात थाहा पाएछन्।
'एक दिन मिलनका बा-आमाले फोन गर्नुभयो र तिमीहरू मर्यौं, अब यहाँ नआउनु भन्नुभयो,' मनिकाले भनिन्, 'त्यसपछि उसको घर जाने कुरै भएन।'
बिहे गरेकै वर्षको चैतमा कम्पनीले पनि उनीहरूसहित थुप्रै कर्मचारीलाई निकाल्यो। त्यसछि खान बस्नै समस्या हुन थाल्यो। ०८१ लागेपछि दुवैजना काठमाडौं आए। मिलन मासु पसलमा काम गर्न थाल्यो। मनिकाले पनि काम खोजिरहेकी थिइन्।
मंसिरमा उनले आफू गर्भवती भएको थाहा पाइन्। दुवै जना आफ्नो खुट्टामा उभिएका थिएनन्। त्यसैले बच्चा पाउन हुँदैन भन्ने विचार मनिकाको थियो। मिलन भने जहिले पाए पनि पाउनै पर्छ भन्थ्यो। जसो तसो हुर्काइएला नि भनेर आँट्यौं,' मनिकाले भनिन्।
गर्भवती भएपछि मनिकालाई डेंगी संक्रमण भयो। डाक्टरले पनि उपचारपश्चात गाउँघरतिरै गएर बस्न सुझाव दिएका थिए। काठमाडौं बस्न पनि समस्या नै थियो। गजुरीमा घरपरिवारले मरिसकेको भनेको थियो। मनिकाले गोर्खा जाने भइन्।
'मिलनलाई उतै काम गर्नु भनेर म माइत आएँ। पछि त, ऊ पनि काम छाडेर गोरखा आयो,' उनले भनिन्। दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन्। बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन्।
“यहाँ गाउँमा खासै काम पाइन्न। बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ। त्यतिबेला मसँग मोबाइल थिएन। मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन,' उनले भनिन्।
एकदिन गाउँकै दिदीबहिनीले मिलनले फेसबुकमा अर्कै केटीको तस्बिर हालेका छन् भनेर मनिकालाई सुनाए। मनिकाले तिनै दिदीबहिनीको मोबाइलबाट मिलनलाई फोन गरिन्। फेसबुकमा अर्कोको फोटो हालेको विषयमा सोधपुछ गर्दा मिलन जबाफ दिन होइन झगडा गर्न तम्सन्थे।
'मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो। मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ। उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए। त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन,' उनले भनिन्।
ऊ घरमा आमाले बोलाउनुभएको छ भनेर फागुनमा निस्केका थिए। त्यसको केही दिनमै पार्वतीको मोबाइलमा मिलनका गाउँले भाइले फोन गरेका थिए। फोन गर्नेले मिलनले अर्कै केटी लिएर घर आएको छ भन्ने खबर दिएको थियो।
'यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ। दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो,' मनिकाले गहँभरि आँसु पार्दै भनिन्, 'मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ। यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग १०० रूपैयाँ सापट मागेर खैरेनी पुगेँ। पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो। खैरेनीमा त्यही बेचेँ। मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ। गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन। म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ। गजुरीमा एउटा पुलिसचौकी रहेछ। त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो। मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो। पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन। पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ। सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो। खैरेनी आएर एकरात मामाघर बसेँ। मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ।'
मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे।
“मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो। यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ,' उनी भन्छिन्, 'जेठ ६ गतेको डेट थियो मेरो। तर, बच्चा पाउने सुरसार भएन। ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ। बच्चा पनि छ घण्टा अड्कियो। बल्लतल्ल बच्चा त जन्मियो। तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ। मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो। बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो। मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु। गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु)ले सबै सहयोग गर्नुभयो। गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु।'
श्रीमानको साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन।
'यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ? मेरो लागि त मरिसक्यो ऊ। अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ। मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु। दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ,' उनले भनिन्।
अन्जानमा बसेको सम्बन्ध र बिबाह हुँदै जन्मिएको छोराको नाम अन्जन राखिदिने सोच मनिकाको छ।
'उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु। के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस्। असल, ठूलो मान्छे होस्,' उनले भनिन्।
मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन्।
'आमाको त केही सम्झना नै छैन। बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा। भाइ जम्मा दुई वर्षको थियो। म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो,' उनले भनिन्, 'आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो। बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन। गाउँमा यस्तै त हो। पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न।'
बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन्।
'बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न। त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौं। भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर। तर, बुबालाई केही मतलब हुन्न। सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला। यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला,' मनिकाले भनिन्।
दुःखको रहमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, 'मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो।'