त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जमा यही जेठ १३ गते एक व्यक्तिको लिंग परिवर्तन सम्बन्धी सफल शल्यक्रिया भयो।
एक जना अमेरिकी सर्जन (शल्यचिकित्सक) को सहयोगमा टिचिङको चिकित्सक टिमले पारलैंगिक (ट्रान्सजेन्डर) पुरूषको लिंग परिवर्तन गरेको हो।
६ घन्टाको शल्यक्रियापछि जनकपुरका २५ वर्षीय पारलैंगिक पुरूष महिला बनेर निस्किए।
यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको हो।
शल्यक्रियापछि अस्पतालले उनलाई पाँच दिन वार्डमा राखेर निगरानी गर्यो। शल्यक्रियाको घाउमा हुन सक्ने संक्रमण, छाला मर्ने, सुन्निने जस्ता समस्या नहुने पक्का भएपछि उनी डिस्चार्ज गरिए।
शल्यक्रिया गरेको पाँच दिनसम्म कुनै पनि जटिल समस्या नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख डा. जयमान श्रेष्ठले बताए।
'शल्यक्रिया गराएका व्यक्ति सामान्य हिँडडुल गर्न सक्ने भएका छन्,' डा. श्रेष्ठले भने, 'उहाँ हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ। अहिलेसम्म कुनै पनि समस्या देखिएको छैन।'
शल्यक्रियाको भोलिपल्ट नै उनलाई केही बेर हिँडाइएको थियो। स्वासप्रश्वासमा समस्या हुन नदिन हिँडाउनुपर्ने उनले बताए। घाउमा कुनै पनि किसिमको समस्या हुन नदिन केही दिन नियमित रूपमा सफा गरेर औषधि लगाउनुपर्छ।
'लिंग परिवर्तनको शल्यक्रिया नेपालको चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हो। यसले ट्रान्सजेन्डर समुदायलाई आवश्यक चिकित्सा सेवा दिने दिशामा नयाँ आयाम थपेको छ,' उनले भने, 'तीन सातासम्म कुनै समस्या नदेखिएपछि हामीले शल्यक्रिया सफल भएको मानेका छौं।'

यो सफलता दुई–चार दिनमै प्राप्त भएको भने होइन। यसका लागि केही वर्षअघि नै योजना बनेको थियो।
डा. श्रेष्ठ सन् २००१ देखि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत छन्। उनी पारलैंगिक पुरूष र महिलाको उपचारमा लागेको १० वर्ष भयो।
नेपाली पारलैंगिक व्यक्तिहरू लिंग परिवर्तनको शल्यक्रिया गराउन विदेश जान्छन् र निकै महँगो शुल्क तिर्छन्। यस्तो अवस्थाबारे उनी जानकार थिए। त्यस कारण उनी लिंग परिवर्तनको शल्यक्रिया पद्धति भित्र्याउन अघि सरे।
उनी यस्तो शल्यक्रिया सिक्न थाइल्यान्ड गए, यसबारे पढे। पाँच वर्षअघि लिंग परिवर्तनको शल्यक्रिया गर्ने योजना बनाएका थिए। तर कानुनी रूपमा झमेला आइलाग्ने देखेपछि अलिकति पछि हटे।
उनी अमेरिकामा कार्यरत प्लास्टिक सर्जन तथा जेन्डर एफर्मेसन सर्जन डा. अलिरेजा हामिदियन जारोमीसँग नियमित छलफल र भेटघाटमा थिए।
डा. जारोमी ट्रान्सजेन्डर सम्बन्धी उपचार र शल्यक्रियामा लागेको ६ वर्ष भयो। उनी नेपाल आउन र शल्यक्रियामा सहयोग गर्न तयार भइन्। त्यसपछि डा. श्रेष्ठ अघि बढे, उनले आफ्नो टिम तयार राखे।
टिचिङ अस्पतालमा प्लास्टिक सर्जरी शल्यक्रिया सम्बन्धी ६ जना सर्जन छन्। त्यहीँ पढ्दै गरेका विद्यार्थी चिकित्सक पनि छन्। एक वर्षअघि डा. जारोमीले चाँडै नेपाल आउँछु भनेर वचन दिएपछि डा. श्रेष्ठ शल्यक्रियाको योजना कार्यान्वयन गर्न अघि बढे।
उनको टिमले शल्यक्रिया गराउन चाहने व्यक्ति खोजीका लागि लैंगिक अल्पसंख्यकहरूको संस्था 'ब्लु डाइमन्ड सोसाइटी' (नील हिरा समाज) सँग परामर्श गर्यो।
'ब्लु डाइमन्ड सोसाइटीको सहयोगमा तीन व्यक्ति अस्पतालको सम्पर्कमा आए,' डा. श्रेष्ठले भने।
पहिलो शल्यक्रियाका लागि तीन जनाबाट एक जना छान्नुपर्ने भयो। वर्ल्ड प्रोफेसनल एसोसिएसन फर ट्रान्सजेन्डर हेल्थ (डब्लुपिएटिएच) ले ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तनका लागि मापदण्ड तोकेको छ।
एक – लिंग परिवर्तन गर्न चाहने व्यक्ति १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ।
दुई – मनोविदले ट्रान्सजेन्डर व्यक्ति हो भन्ने पुष्टि गरेको हुनुपर्छ।
तीन – त्यो व्यक्तिमा 'जेन्डर डिस्फोरिया' भनिने चिकित्सा अवस्था भएको हुनुपर्छ। यो भनेको जन्मिँदाको लिंग र उसको लैंगिक पहिचानबीच भिन्नता भएर तनाव, चिन्ता र पीडा भोगेको अवस्था हो।
चार – शल्यक्रिया गर्नुअघि कम्तीमा एक वर्ष आफूले चाहेको लिंग अनुसारको व्यवहारमा रहेको हुनुपर्छ।
लिंग परिवर्तनका लागि विश्वभर डब्लुपिएटिएचको मापदण्ड अनुसार मात्र चिकित्सा सेवा दिइन्छ।
'मापदण्ड अनुसार नै व्यक्ति छनोट गर्नुपर्ने थियो। निकै लामो छलफलपछि जनकपुरका २५ वर्षीय युवक छान्यौं। उनी राजी भएपछि प्रक्रिया अगाडि बढायौं,' डा. श्रेष्ठले भने।
ती युवक लिंग परिवर्तनको शल्यक्रिया गराउन चाहन्थे तर कमजोर आर्थिक अवस्थाका कारण तनावमा थिए। टिचिङ अस्पतालको टिमले उनीसँग तीन महिना नियमित परामर्श गर्यो। उनमा सबै मापदण्ड लागू हुने टिमले निष्कर्ष निकाल्यो।
युवकले हर्मोन थेरापी लिएका थिएनन्। उनको शरीरका अंग परीक्षण भयो। शल्यक्रियाका लागि सबै दृष्टिले उपयुक्त ठहरिएपछि अस्पतालमा भर्ना गरिए। भोलिपल्टै शल्यक्रिया भयो।
डा. श्रेष्ठका अनुसार उनको शरीरमा रहेका पुरूष लिंगका तन्तुहरू चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रीय निर्माण गरिएको छ।

'पुरूषबाट महिलामा परिवर्तन गर्ने शल्यक्रियामा पुरूष लिंगको संवेदनशील भाग सुरक्षित राखेर त्यसका नसाबाट योनी बनाउने हो,' उनले भने, 'पुरूष लिंगको छाला र नसाको प्रयोगबाटै योनी बनाउनुपर्छ। त्यहाँ कुनै नयाँ अंग राख्ने होइन। पुरूष यौनांगको ग्ल्यान्स (लिंगको टुप्पाको भाग) को भाग सुरक्षित राखेर त्यसैबाट महिलाको क्लिटरिस बनाउने हो। पिसाब नली र अन्य आवश्यक अंगहरू बनाइन्छ।'
शल्यक्रिया गरेर बनाइएका अंग पूर्ण रूपमा प्राकृतिक जस्तै हुने डा. श्रेष्ठको भनाइ छ। पिसाब फेर्ने, यौन सम्बन्ध राख्ने लगायत क्रिया प्राकृतिक जस्तै हुन्छ।
लिंगका ससाना नसाहरू जोडेर नयाँ अंग बनाउनुपर्ने भएकाले शल्यक्रिया निकै लामो हुन्छ। महिला अंगबाट पुरुष अंग बनाउन अझै धेरै समय लाग्छ। पुरूष लिंग बनाउन शरीरका अन्य भागको तन्किने अंग काटेर जडान गर्नुपर्ने हुन्छ।
'महिला बन्न रूचाउने ट्रान्सजेन्डर पुरूषहरू धेरै भेटिन्छन्, पुरूष बन्ने कम हुन्छन्,' डा. श्रेष्ठले भने, 'पुरूष बन्छु भनेर कोही आए भने हामी शल्यक्रिया गर्न सक्छौं।'
नेपालमा लिंग परिवर्तन गर्ने शल्यक्रिया पहिलोपटक भए पनि स्तन (ब्रेस्ट) निकाल्ने र राख्ने काम भने हुँदै आएको थियो। लिंग परिवर्तनको शल्यक्रिया हुनुअघि पनि टिचिङ अस्पतालमै एक जनाको स्तन निकाल्ने र एक जनाको राख्ने काम भएको उनले बताए।
लिंग परिवर्तनको शल्यक्रिया नेपालमै हुने भएपछि नेपालीहरूले विदेशको तुलनामा निकै सस्तोमा सेवा पाउने भएका छन्।
'हामीले त्यस्तो शल्यक्रियाको शुल्क यति नै हो भनेर तोकेका छैनौं। जे भए पनि विदेशको भन्दा धेरै सस्तो हुन्छ,' उनले भने।
थाइल्यान्डका राम्रा उपचार केन्द्रमा लिंग परिवर्तन गर्न ३० लाख रूपैयाँसम्म खर्च लाग्ने उनले थाहा पाएका छन्। भारतका केही ठाउँमा पाँच लाख रूपैयाँसम्म भएको पनि जानकारी पाएका छन्। शुल्क निर्धारण जटिलताका आधारमा हुने उनले बताए।
'हामी दुई लाखदेखि पाँच लाख रूपैयाँसम्ममा गर्न सक्छौं होला,' उनले भने, 'विदेशको तुलनामा यो खर्च निकै कम हो। विदेश जाँदा यात्रामा, बसाइमा र अन्य अतिरिक्त खर्च पनि हुन्छ।'
टिचिङ अस्पतालमा प्राप्त सफलता लिंग परिवर्तन गरेर जीवन चलाएका र परिवर्तन गर्न चाहने दुवैका लागि खुसीको कुरा भएको छ। सेवा लिन आउनेका लागि वातावरण सहज बनाउने काममा लागेको पनि उनले बताए।
यसनिम्ति चिकित्सकहरूको एउटा समूह बनाउने तयारी छ। यो समूहले शल्यक्रियाको योजना बनाउनेछ, समस्या समाधानको उपाय पहिल्याउने छ, कानुनी पाटोमा पनि सहजीकरण गर्नेछ। सेवाग्राहीको गोपनीयता कायम राखिनेछ।
'भर्खर शल्यक्रिया सुरू भएको छ। यसमा आउने समस्या समाधान गर्दै सेवा विस्तार गछौं,' डा. श्रेष्ठले भने, 'बिस्तारै सेवाग्राही आउने अपेक्षा छ।'