भरतपुर–१४ की ५८ वर्षीया बुद्धिमाया सुनार मधुमेहको बिरामी भएको १२ वर्ष भयो।
बिमार बढेर सामान्य काम गर्न पनि गाह्रो हुन थालेपछि उनी उपचारका लागि भरतपुरका धेरै अस्पतालहरू धाइन्। छिटो निको होला कि भनेर काठमाडौंका अस्पताल पनि चहारिन्।
उनी सधैंझैं यसपालि पनि उपचारका लागि भरतपुर जानका लागि रिफरको कागज बनाउन शिवनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन्। तर स्वास्थ्य केन्द्रले उनलाई रिफर दिएन। विशेषज्ञ डाक्टरबाट यहीँ उपचार हुने जानकारी गरायो।
‘यहाँ पहिले सामान्य उपचार पनि हुन्थेन। त्यसैले उनीहरूले भनेको कुरामा पत्यार लागेको थिएन। तर अहिले पहिलेजस्तो रहेनछ। मेडिकल कलेजका डाक्टरहरू आएर उपचार गर्नुहुँदो रहेछ। टिभीबाट पनि उपचार हुने रहेछ,’ बुद्धिमायाले भनिन्, ‘खोजेका डाक्टर यतै आएपछि अन्त जानै परेन नि।’
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरले मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेबापत शिवनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्ना विशेषज्ञ डाक्टरहरू पठाएर सेवा दिँदै आएको छ।
विगतमा डाक्टरहरू भौतिक रूपमा उपस्थित भएर मात्रै सेवा दिइने गरेकोमा अचेल भर्चुअल माध्यमबाट परामर्श दिइने टेलिमेडिसिन सेवा पनि सुरू भएको छ।
स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डाक्टर मान्यता थापाकाअनुसार यहाँ दैनिक १८० देखि ३ सय जनासम्म बिरामी उपचारका लागि आउँछन्। डाक्टर भने २ जनामात्रै छन्।
‘बिरामीको चाप अत्यधिक भएकाले सीमित स्वास्थ्यकर्मीको भरमा यतिधेरै बिरामीको उपचार गर्न सम्भव थिएन। मन नलाग्दा नलाग्दै पनि बिरामीलाई भरतपुरका अस्पतालहरूमा रिफर गर्नुपर्ने बाध्यता थियो। कलेज अफ मेडिकल साइन्सेसले विशेषज्ञ सेवा दिन थालेपछि उपचारमा सहज हुँदै गएको छ,’ डा.थापाले भनिन्, ‘टेलिमेडिसिन सेवा झनै प्रभावकारी बनेको छ।’
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेबापत मेडिकल कलेजले हप्तामा तीन दिन सरकारी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा दिनुपर्नेमा ६ दिन नै विशेषज्ञ डाक्टरहरू आउने गरेको थापाले बताइन्।
मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसूति, बच्चा, आन्द्रा, नाक, कान घाँटी रोग विशेषज्ञहरूले तालिकाअनुसार आएर सेवा दिइरहेको उनी बताउँछिन्।
‘हरेक दिन एक घण्टा टेलिमेडिसन सेवा सञ्चालन गर्छौं। मेडिकल कलेजमा रहनुभएका विशेषज्ञ डाक्टरहरू भर्चुअल रूपमा बिरामीसँग जोडिनुहुन्छ। यहाँबाट बिरामीको अवस्थाबारे बताइन्छ। बिरामीसँग पनि कुरा गरेपछि विशेषज्ञ डाक्टरले परामर्श दिनुहुन्छ,’ डा.थापाले भनिन्, ‘टेलिमेडिसिन सेवा पनि असाध्यै प्रभावकारी भइरहेको छ। यसले बिरामीलाई धेरै सजिलो भएको छ।’
शिवनगरको प्राथमिक स्वास्थ्य केन्द्रमा पश्चिम चितवनको शिवनगर, पटिहानी, जगतपुर, पार्वतीपुर, शुक्रनगर लगायतका ठाउँका बिरामी उपचारका लागि आउँछन्। यहीँ सबै सेवा पाउँदा बिरामीको खर्च र समय बचत भएको छ।
‘कतिपय बिरामी त यस्ता आउनुहुन्छ, जोसँग भाडा तिर्ने पैसा पनि हुँदैन। यस्ता बिरामीलाई पनि रिफर नगरी सुखै थिएन। त्यो अवस्थामा कोहीलाई हामीले नै भाडा सहयोग गरेर पठाएका पनि छौं। तर अहिले रिफर गर्नपर्ने अवस्था निकै घटेको छ,’ उनी भन्छिन्, ‘उपचारका लागि आउने विपन्न, वृद्धवृद्धा तथा असहाय बिरामीलाई टाढाका अस्पतालमा रिफर गर्न नपर्दा आनन्द लाग्छ।’
पेट दुख्ने समस्याको उपचारका लागि रिफर लिन स्वास्थ्य केन्द्र पुगेका ७३ वर्षीय मनहर खड्काले आफ्नै ठाउँमा सेवा पाउँदा सहज भएको बताए।
‘ठूलै उपचार चाहिए। अपरेसन नै गर्न परे त अन्त पनि जान पर्यो। तर सामान्य बिमार हुँदा पनि रोगको पहिचान गर्न पर जानपर्ने अवस्था पहिले थियो। अहिले यहीँ हुने भएपछि सजिलो भएको छ,’ उनले भने।
आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट मधुमेहको समस्याबारे परामर्श लिएकी बुद्धिमाया सुनारले पैसा र समय बचत भएको बताइन्।
‘गाई, बाख्रा, हाँस, कुखुराको हेरचाह गर्ने, मकै थन्काउने काम अलपत्र छाडेर आएकी थिएँ। भरतपुर पुग्न परेको भए बिजोगै हुन्थ्यो। एक, दुई हजार रुपैयाँ त खर्च पनि भइहाल्थ्यो,’ उनले भनिन्, ‘अरू सेवा पनि बढाउँदै गए धेरै सहज हुन्थ्यो।’
कलेज अफ मेडिकल साइन्सेस भरतपुरका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सुदिपराज केसीले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन टेलिमेडिसिन सेवा प्रभावकारी हुने बताए।
यो सेवाले बिरामीको आर्थिक भार र टाढाका ठूला अस्पताल धाएर डाक्टर खोज्ने झन्झट घट्ने उनी बताउँछन्।
‘स्वास्थ्य केन्द्रका डाक्टरले विशेषज्ञ डाक्टरको परामर्श आवश्यक पर्ने बिरामी छनोट गर्नुहुन्छ। तोकिएको समयमा बिरामी र विशेषज्ञ डाक्टरको भेट भर्चुअल माध्यमबाट हुन्छ। यसले बिरामीलाई सहज हुन्छ, स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुन्छ,’ डा.केसीले भने, ‘संक्रामक रोग, महामारी फैलिएर डाक्टर र बिरामी भेट्न मुस्किल हुने समयमा टेलिमेडिसिन सेवा अझै धेरै काम आउँछ। त्यो अवस्थाको लागि तयारी पनि हो यो।’
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका निर्देशक डा.भि नटराज प्रसादले मेडिकल कलेजले सामाजिक उत्तरदायित्वका लागि काम गरेको बताए।
‘हामीसँगै निकै दक्ष र प्रतिष्ठित विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ। उहाँहरूले मेडिकल कलेज आउने बिरामीमात्रै होइन, दूरदराजमा पुगेर पनि बिरामीको पनि सेवा गर्नुहुन्छ। हामी यो सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजान्छौं,’ उनले भने, ‘जसरी निजी क्षेत्रबाट मेडिकल कलेज स्थापना गरेर वर्षौंदेखि स्तरीय सेवा दिँदै आएका छौं, त्यसैगरी मेडिकल कलेजलाई विकट र विपन्न बिरामीको सेवामा सक्रिय बनाउँछौं।’
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक सहितको सेवा दिनसक्दा उपचारका लागि बजार धाउनैपर्ने सर्वसाधारणको बाध्यता हट्दै गएको बताइन्।
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई महानगरले नगर अस्पतालको रूपमा विकास गरिरहेको उनले बताइन्।
‘पहिले एमबिबिएस डाक्टरसहितको सेवा पनि नभएको स्वास्थ्य केन्द्रमा अब हरेक दिन विशेषज्ञ डाक्टरले सेवा दिन थाल्नुभएको छ। अब हामी स्वास्थ्य केन्द्रलाई अझै सम्पन्न बनाउनमा ध्यान दिन्छौं,’ मेयर दाहालले भनिन्, ‘अहिले दुई जना मेडिकल अफिसरमात्रै हुनुहुन्छ। अब छिट्टै दुई जना थपिनुहुन्छ। अन्य सेवा पनि आवश्यकताका आधारमा थप्दै जान्छौं।’
यस स्वास्थ्य केन्द्रमा अहिले ओपिडी, ल्याब, एक्सरे, ड्रेसिङ, बर्थिङ लगायतका सेवाहरू सञ्चालन भइरहेका छन्।
मेडिकल अधिकृत मान्यता थापा ग्रामीण क्षेत्रका बासिन्दालाई उपचारका लागि सहर धाउनैपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य केन्द्रहरूलाई भौतिक पूर्वाधार, उपकरण र जनशक्तिले सम्पन्न बनाउनुपर्ने बताउँछिन्।