हात्ती प्रजनन् केन्द्र खोरसोरमा तीर्थमानकलीले जन्माएको पोथी छावाको नामकरण गरिएको छ। मंगलबार वैदिक विधिअनुसार हात्तीको विनम्रकली नामकरण गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले प्रजनन् केन्द्रमा विनम्रकली जन्मिएपछि खुसी छाएको बताए।
यो आर्थिक वर्षमा प्रजनन् केन्द्रमा ४ वटा छावा जन्मिएकोमा योमात्रै पोथी रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए।
यो छावा गत जेठ ३० गते राति जन्मिएको थियो। प्रजनन् केन्द्रको अभिलेखमा यो छावाको बाबु जंगली हात्ती रोनाल्डो रहेको उल्लेख छ।
२०४४ सालमा स्थापना भएको हात्ती प्रजनन् केन्द्रमा अहिलेसम्म ६७ वटा छावा जन्मिएका छन्।






