कैलालीको धनगढीमा एक युवती मृत भेटिएकी छन्।
सोमबार बिहान धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहका अनुसार सोमबार बिहान डेराबाट दुर्गन्ध आएको भन्न सूचना पाएपछि प्रहरी उक्त घरमा पुगेको थियो।
प्रहरीले उक्त कोठामा लगाएको ताला तोडेर ढोका खोलेर हेर्दा भित्र रेणुकाको शव भेटेको हो।
‘कोठा भित्र शब फेला परेको छ भने बाहिरबाट ताल्चा लागेको अवस्था थियो,’ उनले भने ‘ बिहान सात बजेतिर घरको कोठाबाट गन्ध आउन थाल्यो भन्ने खबर भएपछि प्रहरीले पुगेर ढोका फोडेर हेर्दा युवतीको शव फेला परेको हो,' डिएसपी सिंहले भने।
मृत भेटिएकी चौधरी खानेपानीकी मिटर रिडिङ कर्मचारी हुन्। उनको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्ती हो। जागिरकै लागि उनी बैयाबेहडीमा डेरा गरी बस्दै आएको खुलेको छ।
उनको हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ।
डिएसपी सिंहले शबमा घाँटी र चिउडोमा घाउ खतहरु रहेको बताए।
ती घाउ र खतहरुको प्रारम्भिक विश्लेषणबाट चौधरीको हत्या भएको पूर्वअनुमान गरिएको सिंहले सेतोपाटीलाई बताए।
प्रारम्भिक अनुसन्धानकै क्रममा ती युवतीसँग एकजना युवक पनि बस्ने गरेको खुलेको छ।
शव कति दिन पुरानो हो भन्ने खुलिसकेको छैन।
'शव सडेको अवस्थामा फेला परेको हुँदा घटना कहिलेको हो, भन्ने तत्काल यकीन गर्न सकिएन,' डिएसपी सिंहले भने।
प्रहरीले चौधरीले काम गर्ने खाने पानी कार्यालय र घरबेटी लगायतसँग बुझ्न थालेको छ। घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरिएको डिएसपी सिंहले बताए।